सरकारवादी फौजदारी मुद्दामा मिलापत्र गर्दा पीडितले न्याय पाउँछन् : महान्यायाधिवक्ता बडाल

नेपालखोज २०८२ साउन २ गते १८:४६

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले सरकारवादी फौजदारी मुद्दामा मिलापत्र गर्दा पीडितले चाँडो न्याय पाउने बताएका छन् ।

आफ्नो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा आज आयोजित एक कार्यक्रममा उनले झट्ट सुन्दा सरकारवादी फौजदारी मुद्दामा मिलापत्र हुन्छ रु भन्ने जस्तो लागे पनि मिलापत्र पीडितमैत्री नै हुने गरेको बताए ।

महान्यायाधिवक्ताको मुख्य काम संविधानले नै तोकेको उल्लेख गर्द उनले सरकारलाई आवश्यक परेका बेलामा कानुनी राय दिने आफ्नो काम भएको बताए ।

गत वर्ष ४५ हजार ९१ मुद्दा दर्ता भएकामा सरकारले ६८.२७ प्रतिशत मुद्दामा सफलता हात पारेको र दण्ड सुधार कार्ययोजनाअनुसार हाल प्यारोलमा दुई हजार ७२ मुद्दालाई छाड्ने निर्णय भएको उनले जानकारी दिए ।

महान्यायाधिवक्ता बडालले न्याय प्रणालीको सुधारका लागि न्यायसँग सम्बन्धित सबैले न्याय सम्पादनलाई छिटोछरितो बनाउन आ-आफ्नो ठाउँबाट समन्वयात्मक भूमिका निर्वाह गर्न सकेमा सुधार गर्न सकिने बताए ।

सोही अवसरमा आज अवकास भएका नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेको बिदाइ कार्यक्रम गरिएको थियो भने महान्यायाधिवक्ता बडालले भूमिसम्बन्धी कानुनको स्रोत सामग्री र अभियोजन जर्नल सार्वजनिक गरेका थिए

प्रतिक्रिया