‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

नेपालखोज २०८२ साउन २ गते २०:२१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर (एनएस)’को प्रमाणपत्र अनिवार्य बनाइनुपर्ने बताएका छन् ।

आज नेपाल गुणस्तर परिषद्को ११५औँ बैठकमा मन्त्री भण्डारीले नेपालबाहेक अन्य देशले आफ्नो मुलुकमा वस्तु आयात गर्दा आफ्नो देशको नियमअनुसार गुणस्तर अनिवार्य गरी बाह्य वस्तुको आयातमा कडाइ गर्ने गरेकाले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर’को प्रमाणपत्र अनिवार्य गर्नुपर्ने उल्लेख गरे ।

न्यून गुणस्तरका वस्तु नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय हुने बताउँदै मन्त्री भण्डारीले यस्तो कार्यले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने उल्लेख गरे । नेपाल गुणस्तर परिषद्अन्तर्गत उपभोक्ताको हितका लागि प्रभावकारी नीति निर्माण तथा गुणस्तर अनुगमन प्रणाली बलियो बनाउने विषयमा मन्त्रालयले प्राथमिकता दिइरहेको उनले जानकार दिए ।

नेपालमा उत्पादन हुने वस्तुमा कसरी ‘नेपाल गुणस्तर चिह्न’ प्रदान गर्ने, गुणस्तर मापनका मापदण्ड सुधार गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने तथा गुणस्तरहीन वस्तुको आयातमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया