खानेपानी आपूर्तिको व्यवस्था मिलाउन निर्देशन

नेपालखोज २०८२ साउन २ गते २२:०२

सप्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी जिल्लामा पानी अभाव भएका क्षेत्रमा तत्काल राहतस्वरूप खानेपानी आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहको निर्देशनपछि सप्तरीमा प्रदेश सरकार मातहतको वन डिभिजन कार्यालयको एक तथा प्रदेश सरकारबाट थप दुईवटा गरी तीनवटा ट्याङ्करमार्फत पानी आपूर्तिको तात्कालिक व्यवस्था मिलाइएको हो । जिल्ला प्रशासन कार्यालयलाई अतिप्रभावित क्षेत्रमा खानेपानी आपूर्ति व्यवस्थापन गर्न तत्काल कार्यान्वयनमा जान निर्देशनसमेत दिइएको छ ।

यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लामा खानेपानीको स्रोत घट्दै गएको र कृषिमा पनि प्रतिकूल असर परेको जानकारी दिँदै मुख्यमन्त्री सिंहसमक्ष आवश्यक व्यवस्थापनका लागि आग्रह गरे ।

गत असार ३२ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा पानी नपरेर खडेरीको अवस्था सृजना भएको, धान रोपाइँ तथा अन्य बाली लगाउन सकस भएको, किसानहरू गम्भीर समस्यामा परेका र अधिकांश बस्तीमा खानेपानीको स्रोत सुक्दै गएकाले सङ्घ तथा प्रदेश सरकारसँग आपत्कालीन व्यवस्थापनको माग गर्ने निर्णय गरेका थिए ।

प्रदेश सरकारले उक्त निर्णयको पालना गर्दै तत्काल खानेपानी आपूर्ति सुरू गरेको हो ।

प्रतिक्रिया