कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि…

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् ।
कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् ।
यहाँ कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बीच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।
सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारवाहीको माग गरिएको उनको भनाइ छ । यहाँ गत असार महिनामा सडक कालोपत्र गरिएको वडाध्यक्ष नेपालले जानकारी दिए ।
‘सडक कालोपत्र भएको महिना दिन नपुग्दै उप्किएको छ’ वडाध्यक्ष नेपालले भने, ‘सडक निर्माणको काममा अत्यान्तै लापरवाही भएको अवस्था छ । कालोपत्र सडकको बीचमा घाँस उम्रिएको छ । सडक निर्माणमा गुणस्तरहिन काम भएको प्रष्ट देख्न सकिन्छ ।’
सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आर एन आर आर कम्पनीले असार महिनामा यहाँको शुन्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालले बताए ।
टेम्केमैयुङका चारवटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडकमा सुरुवाती चरणमै गुणस्तरहिन काम भएपछि स्थानीय आक्राकोसित बनेको उनको भनाइ छ ।
कालोपत्र गरिएको सडक छोटो समयमा ठाउँठाउँमा भत्किएको टेम्केमैयुङ–७ का वडाध्यक्ष बालबहादुर खड्काले बताउनुभयो । गैर जिम्मेवारढङ्गले सडक कालोपत्र गर्ने निकायलाई राज्यले कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ ।
सडक कालोपत्रको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयबासी शरण राईले बताउनुभयो । सडक कालोपत्र सुरु हुँदा उत्साहित बनेको अवस्थामा अहिले स्थानीय निरास बनेको उनको भनाइ छ ।
‘सडक निर्माणको अवस्था बेहाल छ’ उनले भने, ‘कालोपत्र गरिएको सडक भत्किएको अवस्था छ । दुईवटा जिल्लालाई जोड्ने सडक कालोपत्रशको यो अवस्था देख्दा हामी दुखित छौँ । राज्यले यो कामको छानबिन गर्न आवश्यक छ ।’
ठेकेदार कम्पनीले निर्माणस्थलमा योजना बोर्डसमेत नराख्दा योजनाको बजेटलगायतको विषयमा स्थानीय बेखबर रहेको उनको भनाइ छ । -रासस

प्रतिक्रिया