इञ्जिनियर दिवसको अवसरमा : नेपालको इतिहासमा पहिलो इञ्जिनियर !

नेपालखोज २०८२ साउन ३ गते ७:३८

आजको दिन नेपालमा इञ्जिनियर दिवस मनाउने गरिन्छ । इञ्जिनियर दिवस मनाउन थालेको पनि ६३ वर्ष भइसकेको छ । नेपालमा इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर एशोसियसनको स्थापना बि.सं. २०१९ साउन ३ गते अर्थात सन १९६२ जुलाई १८ तारिखमा भएको हुँदा यहि दिनलाई नेपालमा इञ्जिनियर दिवसका रुपमा मनाउने गरिन्छ । शुरुमा केही इञ्जिनियरहरु संगठित भएर संस्था खोलेको भए तापनि हालमा भने करिव ४४ हजार इञ्जिनियरहरु यस संस्थामा आबद्ध हुनुहुन्छ । तर नेपालमा ७७००० भन्दा बढि इञ्जिनियरहरु दर्ता भएका छन् ।

नेपाल सरकारले २०२२ सालमा इञ्जिनियरहरुको श्रेणी विभाजन गरेर तीन तह बनाएको थियो । जुन लामो समयसम्म रहिरह्यो । २०५३ मा राजपत्रांकित र राजपत्रअनंकित गरेर ८ श्रेणीमा विभाजन गरिएको थियो । साथै इञ्जिनियर भन्ने शब्द एक भए पनि यस भित्र १५ समुह र अन्य उपसमुहहरु रहेका छन् । प्रमुख रुपले चिनिने र सुनिने सिभिल इञ्जिनियर, मेकानिकल इञ्जिनियर, इलेक्ट्रिक इञ्जिनियर हुन भने अन्यमा इलेक्ट्रोनिक तथा टेलिकम्यूनिकेशन इञ्जिनियर, एरोनटिकल इञ्जिनियर, माइनिङ इञ्जिनियर, केमिकल इञ्जिनियर, मेटालर्जिकल इञ्जिनियर, मेट्रोलोजी इञ्जिनियर, मेट्रेरियोलोजी इञ्जिनियर, जियोलोजी इञ्जिनियर, सर्मे इञ्जिनियर, आइटी इञ्जिनियर, केमिष्ट्री इञ्जिनियर, एगृ इरिगेशन इञ्जिनियर तथा सिभिल एभिएशन इञ्जिनियर रहेका छन् । यस भित्र पनि उपसमुहहरु पनि रहेका छन् ।

नेपालको इतिहासमा पहिलो इञ्जिनियर को थिए भन्ने प्रश्नको जवाफमा पढेर बनेका इञ्जिनियरमा भने दुइ दाजुभाइ कुमार नरसिंह राणा र किशोर नरसिंह राणा नै हुन् । तर हाम्रा अख्यानहरूले विश्वकर्मालाई पहिलो इञ्जिनियर मान्ने गर्दछ । नपढे पनि जानेर, बुझेर, सिकेर नेपालमा लिच्छवी काल तथा मल्लकालमा बनेका मन्दिर, राजकुलो, ढुङ्गेधारा, बिभिन्न दरवारहरु बनाउने त्यसबेलाका शिल्पीहरु पनि कुनै आजका इञ्जिनियरहरु भन्दा कम थिएनन् । ति वास्तुशिल्पीहरु आजका पढेका इञ्जिनियरहरु भन्दा उच्च श्रेणीका थिए । ३-४ सय वर्ष अगाडि बनेका ति संरचनाहरु कतिपयले दशौ ठूला ठूला भूकम्पहरु ठाम्न सक्षम भएका छन् ।

हामीसँग लिच्छवी काल र मल्लकालका शिल्पीहरुको नाम खासै आउँदैन । तर जङ्गबहादुरबाट शुरु भएको राणाकालमा जङ्गबहादुरको समयमा भने रणशूर बिष्टले जङ्गबहादुरका दरवारहरु बनाएका थिए । नारायणहिटी दरवारको रुपमा पुरानो श्री ३ रणोद्वीपको दरवार पनि रणशूर बिष्टले नै बनाएका थिए । रणशूर जङ्ग तथा रणोद्वीपका प्रिय वास्तुकार भए पनि जङ्गका सन्तान र रणोद्वीपको हत्या गरेर श्री ३ बनेका वीरशम्शेरले उनिहरुकै वास्तुशिल्पी रणशूरलाई पछ्याउन चाहेनन् । त्यसैले थायमदू न्हू बहाःका जोगवीलाई दरवार बनाउने जिम्मा लगाए ।

पहिलो त वीरशमशेरका प्रिय रानी नेवार्नी थियो तसर्थ पनि हरेक निर्णय सकेसम्म नेवारहरुका पक्षमा लिन लगाउँदथे । बि.सं. १९४२ मा ठूलो बुबा रणोद्वीपको हत्या गरि श्री ३ बनेका वीरशम्शेरका प्रिय वास्तुशिल्पी थिए जोगवीर स्थापित । कामदारहरुको नाइके भएको हुँदा उनको नाम नै जोगवीनायः हुन गएको हो । हुन त स्थापितहरु पहिले देखि नै वास्तुशिल्पीहरु हुन् । नयाँ नारायणहिटी दरवार तैयार भएपछि आफ्ना ज्वाइ राजा पृथ्वी वीर बिक्रमका लागि दिए । त्यसपछि राजपरिवार हनुमानढोकाबाट नारायणहिटीमा रहन थाले ।

यसपछि त दरवार बनाउने सिलसिला नै शुरु भयो । आफ्नो लागि चारबुर्जा दरवार, छोराहरुका लागि सेतो दरवार, फोहोरा दरवार आदि पनि जोगवीरलाई नै बनाउन लगाए । भूमीगत पानी बगाउनका लागि नालाको ब्यबस्था पनि जोगवीरले वीरशमशेरकै समयमा गरेका थिए । साथै टुकुचा नदीलाई हात्तीसारबाट भूमीगत बनाएर जयनेपाल सिनेमाहल भन्दा केही तलको भागमा निकालिएको थियो ।

यसरी अनुभव र पुर्खाहरुबाट प्राप्त ज्ञानबाट दरवार र नहरका डिजाइन गरेका जोगवीर पछि चन्द्रशम्शेरका समयमा भने आफ्ना ठूला बुबा बद्रीनरसिंह राणाका दुइ छोरा अर्थात भाइ कुमार नरसिंह र किशोर नरसिंहलाई इञ्जिनियर अध्ययनको लागी भारत रुडकीमा रहेको थोमसन कलेज अफ इञ्जिनियरिङमा पठाएका थिए । त्यहाँबाट अध्ययन गरि फर्केपछि चन्द्रशमशेरले पहिलो काम नै सिंहदरवार बनाउन दिएका थिए । बि.सं. १९६० मा सिंहदरवार तैयार भए पछि चन्द्रशमशेर सिंहदरवारमा नै बस्न गएका थिए । चन्द्रशमशेरले आफ्नो बेलायत यात्रामा किशोर नरसिंह राणालाई पनि बेलायत लगेका थिए ।

हार्पर एण्ड कम्पनीले बनाउने ठेक्का पाएको पहिलो पक्की झोलुङ्गे पुल त्रिशुलीको पुलको डिजाइन पनि कुमार नरसिंह राणाले नै गरेका थिए । यो पुल बि.सं. १९५७ मा तैयार भएको थियो । यस पुलको उद्घाटन समारोहको तस्विरमा कुमार नरसिंह राणालाई देख्न सकिन्छ ।

बि.सं. १९७४ सालमा तैयार भएको चुरिया टनेल भने नेपालको पहिलो सुरुङ मार्ग थियो । यो सुरुङ मार्ग बनाउने चिफ इञ्जिनियर दिल्लीजंग थापा थिए । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा अमलेखगञ्जसम्मको बाटो बनाइएको थियो । पछि सोही बाटो बिस्तारको क्रममा बिचमा रहेको बिशाल चुरीयाको पहाडले बाटो रोक्यो । भर्खर मात्र भारतको रुडकीबाट इञ्जिनियरीङ गरेर आएका दिल्लीजंग थापालाई यसको जिम्मा दिइयो । उनको सफल नेतृत्वमा यो असंभव कार्य सम्भव भयो । ९ फिट चौडा १० फिट अग्लो र ७८५ फिट लामो यो सुरूङको उपयोग २०२७-२८ सालसम्म भएको देखिन्छ । त्यसपछि यसलाइ बन्द गरियो । यसरी नेपालको राणाकालमा इञ्जिनियरिङका बिशेष कामहरु भएका थिए ।

प्रतिक्रिया