साउन महिना र मेहन्दी !

सुनील उलक २०८२ साउन ३ गते ८:३३

साउन सक्रान्तीको केही दिन अगाडिदेखि केटाकेटी तथा महिलाहरु बजारमा मेहन्दी बेचिरहेको देखिन थाल्छ । सक्रान्तीको अघिल्लो दिन मधेशीमूलका महिला तथा पुरुषहरु मेहन्दी लगाइदिन लामबद्ध बसिरहेका हुन्छन् । साथै हरियो चुराहरुको पनि बजार लागेको हुन्छ । साउन लाग्दैमा मेहन्दी लगाउनै पर्दछ ? यो फेशन हो वा संस्कृति प्रतिको माया ? वा स्वास्थ्य प्रति बिशेष चासो ।

साउन महिनामा मेहन्दी लगाउने शास्त्रमा लेखिएको कारणले लगाउन थालिएको होइन । समयसंगै यो चलनको शुरुवात भएको हो । यसका पछाडि केही ब्यापारिक सोच पनि हुन् । धर्मशास्त्रमा नलेखिएको तथा संस्कृतिसंग नगाँसिए पनि हाम्रा वरपर धेरैका हात साउन महिनामा मेहन्दीले रङ्गीएका हुन्छन् ।

हालका दिनमा यो संस्कृतिका कारणले होइन देखासिखी र फेशनका कारणले लगाउन थालेका हुन । अरुले लगाउन हुने मैले लगाउन किन नहुने भन्ने कारणले नै यो क्रम देखासिखी हुदै सामाजिक हुन पुगेको हो । धर्मप्रति गाँसिएकाहरुले यसलाई धर्मसंग गाँसिएर त्यो भिडको प्रिय बन्न पनि यसका पक्षमा बोल्ने गरेका हुन् ।

पहाडी गाउँघरमा तिउरीको लेप लगाउने जमात थियो । तराइमा तराइका खेतहरुमा पाइने मेहन्दीको बोटको पात पिसेर मेहन्दी लगाउने गरिन्थ्यो । यी दुबै शुद्ध गाउँघरमा पाइने बोटबिरुवाबाट बनाइन्थे । तर अचेल प्रयोग हुने मेहन्दी कृत्रिम कारखानामा बनाइने मेहन्दी हुन् । अब बजारमा पाउने रासायनिक मेहन्दीमा नै तराइका नेपाली वा पहाडका नेपाली सबै रम्न थालेका छन् ।

कुनै बेला तिउरी र मेहन्दी पिसेर हातमा दल्दा खेतमा हिलो खेल्दा लुतो खटिरा लाग्दैन भनिन्थ्यो । तर अचेल मेहन्दी लगाउनेहरु फेशनका रुपमा लगाउने गर्दछन् । हातमा बिभिन्न बुट्टा कोरेर मेहन्दी लगाउँछन् यसबाट पाइने औषधीय फाइदाहरु यी मेहन्दीमा हुदैनन् ।

बिभिन्न रासायनिक मिसाएर बनाइएका मेहन्दीहरुले कहिले काँही हातमा फोका उठ्ने तथा फोका फुटेर घाउ हुने पनि हुन सक्छ । मेहन्दीमा हुने एक प्रकारको एसिड ट्राई हाइड्रॉक्सी नैफ्थलीन अर्को रासायनिक तत्व नेफ्था क्विनोनको सम्पर्कमा आएपछि रातो रङमा परिवर्तन हुन्छ ।

लासोन भन्ने यो रासायनिक हाम्रो छालाबाट तथा हावाबाट प्राप्त हुने गर्दछ । यसरी हातमा गाढा रङको मेहन्दी लाग्ने गर्दछ । तर बजारमा पाइने मेहन्दीहरुमा कतै कतै ट्राई हाइड्रॉक्सी नैफ्थलीन नामक एसिड कडा खालको हुन्छ । जसको प्रयोगले मेहन्दी लगाएको केही समय पछि नै अत्यधिक चिलाउने, एलर्जी हुने, छाला सुनिने तथा फोका उठ्ने पनि हुन्छ । एउटै मेहन्दी पनि कसैको छालामा केही नहुने र कसैको छालामा तत्कालै असर गर्ने पनि हुन्छ ।

यसर्थ कहिले काँही राम्रो देखिन लगाइने मेहन्दी घातक पनि हुन सक्छ । दोश्रो यो फजुल खर्च पनि हो । साथै मेहन्दी लगाइदिनेहरु अधिकांश भारतीय यहि साउन महिनाका लागि मात्रै बिभिन्न शहरमा पुग्ने गर्दछन् । जसले गर्दा मेहन्दीकै कारणले वार्षिक अरबौ रुपैंया भारत तर्फ जाने गर्दछ ।

पहिले पहिले पहाड तिर तिउरीको पातमा मकरकाँची बारीको गाभा र पाए परेवाको बिष्टा पनि मिसाएर पिसिन्थ्यो र हातभरी दलिन्थ्यो । तराइ तिर मेहन्दीको सानो सानो हरियो पात टिपेर त्यसमा ल्वाङ तथा इमली मिसाएर थोरै पानी हालेर पिसिन्थ्यो । यसरी बनेको लेपलाई औलाहरुमा तथा बिचमा राखेर केही बेर छोडिन्थ्यो । यसरी हातमा रङ बस्दथ्यो । त्यसबेला अहिले झै चित्रकारिता चाहिँदैनथ्यो ।

प्रतिक्रिया