महाकाली सामुदायिक वनको घुम्ती कोषले गरिबी घटाउँदै, रोजगारी बढाउँदै

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बन्जरियास्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध सदस्य आर्थिक रूपमा परिपक्व हुन थालेका छन् । सामुदायिक वनले घुम्ती कोष सञ्चालन गरी उपभोक्ताको आयस्तरमा सुधार ल्याउन थालेको हो ।
सामुदायिक वनअन्तर्गत तीनवटा टोल समिति गठन गरिएका छन् । टोल समितिपिच्छे सामुदायिक घुम्ती कोष सञ्चालन गरिएका छन् । सामुदायिक वनका कार्यालय सहायक वुद्धिबहादुर चौधरीका अनुसार उत्तर बन्जरिया टोल समिति, वसन्तपुर टोल समिति र दक्षिण बन्जरिया टोल समिति गरी तीन वटा टोल समिति छन् ।
प्रत्येक टोल समितिमा रु १० लाखको घुम्ती कोष सञ्चालित छ । टोल समितिमा आबद्ध उपभोक्तालाई बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, पशुपालन, बेमौसमी सागसब्जीखेती, माछापालन र किराना पसल सञ्चालनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्य हुँदै आएको छ ।
‘टोल संयोजकसहित समितिमा सात जना रहने व्यवस्था गरिएको छ’, चौधरीले भने, ‘समितिले आवश्यकता भएका विपन्न अवस्थाका उपभोक्ताको मागअनुसार ऋण परिचालन गर्दै आएको छ ।’ एक जना उपभोक्तालाई एक पटकमा कम्तीमा रु ३५ हजारसम्म ऋण वार्षिक शून्य दशमलव पाँच प्रतिशत ब्याजमा लगानी गरिँदै आएको छ ।
तीन वटै टोल समितिमा २५४ घरधुरी आबद्ध रहेका छन् । जसमा महिला ५५७ र पुरुष ६०६ जना आबद्ध रहेका छन् । सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीका अनुसार टोल समितिको हिसाबकिताबलाई पारदर्शी र चुस्तदुरुस्त बनाउनका लागि आर्थिक वर्षको अन्त्यमा आर्थिक प्रतिवेदन तयार गरी सार्वजनिक सुनुवाइ गरी अनुमोदन गर्ने गरिन्छ । प्रतिवेदनमा ऋण लगानी भएको रकम, वार्षिक प्राप्त ब्याज र बैंक मौज्दातबारे उल्लेख गरिएको हुन्छ ।
घुम्ती कोष परिचालनका लागि भने सामुदायिक वनले विनियमनै तयार गरी त्यसैअनुरूप रकम परिचालन गर्दै आएको छ । आयआर्जनका कार्यक्रमसँगै वैदेशिक रोजगारीमा जानेलाई र उच्च शिक्षा अध्ययन गर्नेलाई पनि सहुलियत दरमा ऋण उपलब्ध गराउने गरिन्छ । सामुदायिक वनमा आबद्ध उपभोक्ता कोषको रकम ऋणका रूपमा लिएर कुनै न कुनै व्यवसायमा संलग्न रहेका छन् । घुम्ती कोषअन्तर्गत एक उपभोक्तालाई निश्चित समयावधिका लागि दिएको ऋण अर्को उपभोक्तालाई दिइने गरिन्छ ।
कोषबाट ऋण लिएर फूलराम चौधरीले बाख्रापालनको कार्य गर्दै आउनुभएको छ । बाख्रापालन गरी उहाँले वार्षिक रूपमा रु दुई लाख बढी आम्दानी गर्दै आउनुभएको छ । सामुदायिक वनमा आबद्ध भएपछि घुम्ती कोषबाट ऋण लिएर बाख्रापालन गरिएपछि वर्षभरिको घरखर्च सहज रूपमा चल्न थालेको चौधरीले बताए । पहिलोपटक लिएको ऋणको रकम बाख्रा बिक्री गरेर चुक्ता गरिसकेको उल्लेख गर्दै उनले थप ऋण लिएर उन्नत जातका बाख्रा थपेर व्यवसायलाई विस्तार गर्ने सोच रहेको बताए ।
समितिमा आबद्ध बुद्धिराम चौधरीले घुम्तीको कोषबाट लिएको ऋणको रकम परिचालन गरी दश कट्ठा जग्गामा व्यावसायिक रूपमा सागसब्जीखेती थालेका छन् । मौसमी र बेमौसमी सागसब्जीखेती गरी वर्षमा रु पाँच लाख जतिको आम्दानी हुने गरेको उहाँ बताउँछन् । उनका अनुसार घुम्ती कोषको अर्को उद्देश्य गरिबी घटाउने र रोजगारीका अवसर सिर्जना गर्ने समेत रहेको छ । सामुदायिक वनले पाँच वर्षअघिदेखि घुम्तीकोष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया