‘खानेपानीसम्बन्धी समस्या समाधान गर्दै नागरिकको जीवनस्तर सुधार्न केन्द्रित छौँ’

इटहरी (सुनसरी) । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीसम्बन्धी समस्या समाधन गर्दै नागरिकको जीवनस्तर सुधार्न वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् ।
आज यहाँस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन गर्दै उनले झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे ।
उनले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।
नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरुन् भन्ने सरकारको स्पष्ट उद्देश्य बताउँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पु¥याउने रहेको उल्लेख गरे । उनले भने, ‘देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख लक्ष्य हो ।’
मन्त्री यादवले देशका सबै समुदायलाई समान सेवा पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताए । खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सेवाउन्मुख सामाजिक मन्त्रालय भएकाले नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पु¥याउने उद्देश्यले योजनाबद्ध काम भइरहेका उहाँले जानकारी गराए ।
आज उद्घाटन गरिएको खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका–१, २, ३, र ५ का चार हजार ३१ परिवारका करिब २२ हजार ७८७ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरीका प्रमुख महेसी महतोले जानकारी दिए । उनका अनुसार यो आयोजनाले स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चिततामार्फत नागरिकको स्वास्थ्य र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्य राखेको छ ।
कार्यक्रममा पूर्वसङ्घीय सांसद नवदिता चौधरी, नगरप्रमुख शङ्करलाल चौधरी, झुम्का खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरी, नगर उपप्रमुख तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, खानेपानी तथा ढल व्यवस्थान विभागका उपमहानिर्देशक राजेन्द्र सापकोटा, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरत बम, उपनिर्देशक महेश न्यौपाने, खानेपानी तथा ढल निकास विराटनगरका प्रमुख सुरतलाल चौधरीलगायत सरोकारवालाको सहभागिता थियो । -रासस

प्रतिक्रिया