आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट (बागलुङ) । बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो ।
बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास ९होमस्टे०मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन् ।
बागलुङ बजारबाट पदयात्रामार्फत एक घण्टामा पुग्न सकिने बागलुङ नगरपालिका–१० स्थित बराहताल पर्यटकीय पूर्वाधार निर्माण गरिएपछि व्यवस्थित र आकर्षक बनेको स्थानीय सोमबहादुर थापा मगरले बताए ।
साविकको जिल्ला विकास, अहिलेको सङ्घीय पर्यटन मन्त्रालय, प्रदेश मन्त्रालय र बागलुङ नगरपालिकाको करिब रु ५० लाखमा यहाँ पूर्वाधार निर्माण भएका नगर कार्यालयले जनाएको छ ।
अव्यवस्थित ताल वरपर व्यवस्थित पर्खाल, संरक्षण तथा रेलिङसहितको पदमार्ग निर्माण भएपछि बराहताल मनमोहक देखिएको थापा मगरले उल्लेख गरे । बराहतालमा पर्यटकको चहलपहल सदाबहार एकैनासको भइरहने भन्दै उनले वर्षामा ताल थप आकर्षक देखिने बताए ।
तालबाट देखिने धौलागिरि हिमालको छाँया र आँखै अघि देखिने बागलुङ बजारले पर्यटकलाई मोहित बनाउँदै आएको उनको भनाइ छ । पहिला ताल व्यवस्थित नहुँदा ताल वरपर घाँसले भरिने गरेकामा अहिले सुन्दर देखिन थालेको थापाले उल्लेख गरे ।
तालले दृश्यालोकनका साथै यो क्षेत्र ऐतिहासिक तथा धार्मिक रूपमा पनि महत्त्वपूर्ण रहेको जनाउँदै उहाँले बैकुण्ठ पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गरेको बताए ।
बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाका साँढ बलि दिएर पूजा गर्ने परम्परा रहेको संविधानसभा सदस्य एवं स्थानीय अगुवा नरबहादुर थापाले बताए ।
दुई हजार ८२६ वर्गमिटरमा फैलिएको यो तालमा पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयस्तर बढाउन रु ५० लाखभन्दा बढी लगानी गरी पूर्वाधार निर्माण गरिएको संविधानसभा सदस्य थापाले बताए ।
एक हजार ३०० मिटर उचाइमा रहेको ताल क्षेत्रमा पुग्न सदरमुकामबाट पैदलमार्फत एक घण्टाम पुग्न सकिन्छ । भकुण्डेको घरबास, भ्युटावर र बलेवाको भैरवथान घुम्न आउने पर्यटकले तालको अवलोकन गर्ने गरेका उनले उल्लेख गरे ।
बराह मन्दिर पुनर्निर्माण, तालको क्षेत्र विस्तार, घेराबार, पर्खाल निर्माणलगायत काम सम्पन्न भइसकेका छन् । बागलुङ बजारबाट तित्याङ हुँदै यहाँ पुग्ने सडक अहिले स्तरोन्नति भइरहेकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको संविधानसभा सदस्य थापाले बताए ।
वि. सं २०६८ मा जिल्लाकै पहिलो घरबास सुरु भएको भकुण्डे पर्यटन प्रवर्द्धनमा अघि बढ्दै गएको छ । बराहताल हुँदै मुलाबारीमा रहेको भ्युटावरमा सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्दै घरबासमा पर्यटक आउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले जानकारी दिए ।
बराहताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएकाले आन्तरिक पर्यटकको आगमन बढी हुने गरेको उनको भनाइ छ । यो तालको गहिराइ कति छ भन्ने हालसम्म एकिन नभएको स्थानीय बताउँछन् । -रासस








प्रतिक्रिया