‘घरमै सुरक्षित छैनन् छोरी’

नेपालखोज २०८२ साउन ३ गते २०:४८

गोरखा । गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा फोन आयो । गोरखा नगरपालिका-११ को एक विद्यालयमा पढाउने शिक्षिकाले प्रहरीलाई ११ वर्षीया बालिकालाई निजका बुबाले जबरर्जस्ती करणी गरेको भन्दै उजुरी दिइन् ।

प्रहरीले तत्कालै बालिकाको घर पुगेर निजका बुबालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थाल्यो । हाल निजका बुबाविरुद्ध बालयौन दुव्र्यवहार शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

उक्त घटनाभन्दा १५ दिनअघि जिल्ला प्रहरी कार्यालयमा त्यस्तै प्रकृतिको अर्को घटना दर्ता भएको थियो । गोरखा-५ की १७ वर्षीया किशोरी शारीरिक रूपमा अशक्त भएकै कारण बुबाबाट यौन शोषणमा परेकी छिन् । पारिवारिक झगडाका कारण आमाले छोडेपछि रेखदेख गर्ने नाममा बुबाबाट यौन शोषण भोग्नु परेको उनी बताउँछिन् ।

गोरखा-८ की १५ वर्षीया किशोरीको कहानी पनि परक छैन । उनले बुबाबाट यौन शोषणमा पर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि निजका बुबालाई पक्राउ गरेर जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विकले जानकारी दिए ।

आमा विदेशमा रहेकाले बुबाले रक्सी खाएर छोरीमाथि यौन दुव्र्यवहार गर्ने गरेका अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । प्रहरीमा जानकारीमा आएकाबाहेक पनि यस्ता धेरै घटना गाउँबस्तीमा छन् ।

प्रतिक्रिया