स्वास्थ्य मन्त्रीका रुपमा प्रदीप पौडेलको एक वर्ष, स्वास्थ्यमा सकारात्मक सुधारको शुरुवात

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ ।यसबीचमा मन्त्री पौडेलले संघीय अस्पतालको सेवा सुधार विस्तारदेखि स्वास्थ्य बीमा सुधारमा प्रशस्त प्रयासको नतिजास्वरुप परिवर्तन देखिन थालेका छन् ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारका लागि संयौ नीतिगत निर्णय गरेका छन् भने केही ऐन तथा कानून आउने प्रक्रियामा छन् । सिकसेल एनिमिया तथा हेमोफिलियाजस्ता जटिल रोगमा विपन्न नागरिकको उपचारका लागि निःशुल्क उपचारका साथै बाल क्यान्सर र नेपालमा औषधी प्राप्त गर्न कठिन जटिल क्यान्सरका बिरामीलाई निःशुल्क उपचारको व्यवस्थालगायतका सुधार अघि बढाएका मन्त्री पौडेलले विपन्नलाई जलन उपचारसमेत निःशुल्क व्यवस्था गरेका छन् ।
थारु समुदायले वर्षौंदेखि भोगिरहेको सिकलसेल तथा थालिसिमियाका बिरामीलाई बेग्लै वार्ड तथा निःशुल्क खोपको व्यवस्था समेत मन्त्री पौडेलको नेतृत्वमा छोटो अवधिमा भएको छ ।
राजधानी केन्द्रीत क्यान्सर, मुटु रोग, मानव अंग प्रत्यारोपणजस्ता विशिष्ट उपचार प्रादेशिक अस्पतालमा विस्तार गर्नेसहितका योजना तथा प्राथमिकता घोषणा गरेका मन्त्री पौडेलले त्यसमा प्रतिबद्धता जनाएका नीति कार्यान्वयनमा ल्याउनुका अतिरिक्त थप काम समेत अघि बढाएका छन् ।
सरकारी अस्पतालको सेवा सुधार र विस्तार
मन्त्री पौडेलले साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा संघीय अस्पतालको सेवा सुधार तथा विस्तार र नीतिगत सुधारलाई प्राथमिकता दिइएको थियो ।
लगत्तै जारी ९ बुँदाअनुसार अहिले अधिकांश अस्पतालहरुमा भीड व्यवस्थित गर्न अनलाइनमार्फत टिकट बुकिङ, संघीय अस्पतालहरुको क्षमता विस्तार, विशिष्टिकृत उपकरण मर्मत र थप अनि प्रणालीगत सुधार अघि बढेको छ । अहिले संघीय अस्पतालहरुम दुई सिफ्टमा ओपीडी तथा विस्तारित सेवा दिने पद्दती आरम्भ भएको छ ।
यसले सरकारी अस्पतालको ओपीडीमै निर्भर आम नागरिकलाई धेरै राहत दिएको छ । सीमित बजेटका कारण भएकै श्रोतको अधिकतम परिचालन गरेर एक वर्षमा यस क्षेत्रमा पहिलेभन्दा सुधारका नतिजा प्राप्त भएको छ । भावी दिनमा यसमा अझै सुधार हुने गरी मन्त्रालयले उपकरण तथा जनशक्ति थप गर्न बजेटको व्यवस्थापन गरेर अघि बढाएको सुधारले दीर्घकालमा अझ राम्रो नतिजा दिने अपेक्षा गरिएको छ ।
‘हामीले थालेका स्वास्थ्य सेवा सुधार र पहुँच विस्तारका प्रयासले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि दूरगामी महत्वका आधारहरू तय गरेका छन्,’ मन्त्री पौडेल भन्छन्,‘यी प्रयासहरू संविधानद्वारा प्रत्याभूत स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गर्न तथा प्रत्येक नागरिकले अनुभूत गर्नसक्ने जीवन्त यथार्थमा परिणत गर्न सफल हुनेछन् भन्ने विश्वास लिएको छु ।’
संघीय राजधानीकेन्द्रीत विशिष्टिकृत सेवा प्रदेश तहसम्म विस्तार
मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा नागरिकलाई सहजता र उपचारका क्रममा हुने खर्च कम गराउन संघीय राजधानीमा केन्द्रीत विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरुमा विस्तार गर्ने घोषणा गरेका थिए ।
यस नीतिअनुसार अहिले सातै प।देशमा जलन उपचार, मुटु उपचार सेवा भरतपुर तथा भेरी अस्पतालमा शुरुवात भएको छ । नेपालमै पहिलो पटक संघीय राजधानीबाहिर मानव अंग प्रत्यारोपण सेवा भेरि अस्पतालमा शुरुवात हुनुजस्ता कामलाई मन्त्री पौडेलले बताउने गरेको स्वास्थ्यमा संघीयताको असल अभ्यासका रुपमा चित्रित गर्न सकिन्छ ।
यसैगरी, सातै प्रदेशमा जलन उपचार विस्तारसँगै क्यान्सरका विस्तारित उपचार सेवाहरु प्रादेशिक अस्पतालहमा प्राप्त गर्न सकिने भएका छन् ।
छोटो अवधिमै थपिएका यी सेवालाई थप व्यवस्थित गर्ने गरी अहिले बजेटमा कार्यक्रम समावेश गरिएकाले अझ सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ । यसले पहिलेको तुलनामा नागरिकको खर्च र समय बचत भएको छ । प्रदेश तहका अस्पतालमा विशिष्ट खालका उपचार प्राथमिकताका साथ थालिनुले भावी दिनमा स्वास्थ्यमा साँच्चैको संघीयता ल्याउन मद्दत पुग्ने र यसको केन्द्रमा नागरिक हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया