साउन ३ गते इन्जिनियर दिवसको अवसरमा

आजको दिन नेपालमा इन्जिनियर दिवस मनाउने गरिन्छ । इन्जिनियर दिवस मनाउन थालेको पनि ६३ वर्ष भइसकेको छ । नेपालमा इञ्जिनियरहरुको छाता सङ्गठन नेपाल इन्जिनियर एशोसियसनको स्थापना वि.सं. २०१९ साउन ३ गते अर्थात् सन १९६२ जुलाई १८ तारिखमा भएको हुँदा यही दिनलाई नेपालमा इन्जिनियर दिवसका रूपमा मनाउने गरिन्छ । सुरुमा केही इञ्जिनियरहरु सङ्गठित भएर संस्था खोलेको भए तापनि हालमा भने करिब ४४ हजार इञ्जिनियरहरु यस संस्थामा आबद्ध हुन् । तर नेपालमा ७७००० भन्दा बढी इञ्जिनियरहरु दर्ता भएका छन् ।
नेपाल सरकारले २०२२ सालमा इञ्जिनियरहरुको श्रेणी विभाजन गरेर तीन तह बनाएको थियो । जुन लामो समयसम्म रहिरह्यो । २०५३ मा राजपत्राङ्कित र राजपत्र अनङ्कित गरेर ८ श्रेणीमा विभाजन गरिएको थियो । साथै इन्जिनियर भन्ने शब्द एक भए पनि यस भित्र १५ समूह र अन्य उपसमूहहरू रहेका छन् । प्रमुख रूपले चिनिने र सुनिने सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, इलेक्ट्रिक इन्जिनियर हुन भने अन्यमा इलेक्ट्रोनिक तथा टेलिकम्यूनिकेशन इन्जिनियर, एरोनटिकल इन्जिनियर, माइनिङ इन्जिनियर, केमिकल इन्जिनियर, मेटालर्जिकल इन्जिनियर, मेट्रोलोजी इन्जिनियर, मेट्रेरियोलोजी इन्जिनियर, जियोलोजी इन्जिनियर, सर्मे इन्जिनियर, आइटी इन्जिनियर, केमिष्ट्री इन्जिनियर, एगृ इरिगेशन इन्जिनियर तथा सिभिल एभिएशन इन्जिनियर रहेका छन् । यस भित्र पनि उपसमूहहरू पनि रहेका छन् ।
नेपालको इतिहासमा पहिलो इन्जिनियर को थिए भन्ने प्रश्नको जवाफमा पढेर बनेका इञ्जिनियरमा भने दुई दाजुभाइ कुमार नरसिंह राणा र किशोर नरसिंह राणा नै हुन । तर हाम्रा अख्यानहरूले विश्वकर्मालाई पहिलो इन्जिनियर मान्ने गर्दछ । नपढे पनि जानेर, बुझेर, सिकेर नेपालमा लिच्छवी काल तथा मल्लकालमा बनेका मन्दिर, राजकुलो, ढुङ्गे धारा, विभिन्न दरवारहरु बनाउने त्यस बेलाका शिल्पीहरू पनि कुनै आजका इञ्जिनियरहरु भन्दा कम थिएनन् । ती वास्तुशिल्पीहरु आजका पढेका इञ्जिनियरहरु भन्दा उच्च श्रेणीका थिए । ३-४ सय वर्ष अगाडि बनेका ती संरचनाहरू कतिपयले दशौँ ठुला ठुला भूकम्पहरू ठाम्न सक्षम भएका छन् ।
हामीसँग लिच्छवी काल र मल्लकालका शिल्पीहरूको नाम खासै आउँदैन । तर जङ्गबहादुरबाट सुरु भएको राणाकलामा जङ्गबहादुरको समयमा भने रणशूर विष्टले जङ्गबहादुरका दरवारहरु बनाएका थिए । नारायणहिटी दरबारको रूपमा पुरानो श्री ३ रणोद्वीपको दरबार पनि रणशूर विष्टले नै बनाएका थिए । रणशूर जङ्ग तथा रणोद्वीपका प्रिय वास्तुकार भए पनि जङ्गका सन्तान र रणोद्वीपको हत्या गरेर श्री ३ बनेका वीरशम्शेरले उनीहरूकै वास्तु शिल्पी रणशूरलाई पछ्याउन चाहेनन् । त्यसैले थायमदू न्हू बहाःका जोगवीलाई दरबार बनाउने जिम्मा लगाए ।
पहिलो त वीरशमशेरका प्रिय रानी नेवारी थियो तसर्थ पनि हरेक निर्णय सकेसम्म नेवारहरुका पक्षमा लिन लगाउँदथे । वि.सं. १९४२ मा ठुलो बुबा रणोद्वीपको हत्या गरी श्री ३ बनेका वीरशम्शेरका प्रिय वास्तु शिल्पी थिए जोगवीर स्थापित । कामदारहरूको नाइके भएको हुँदा उनको नाम नै जोगवीनायः हुन गएको हो । हुन त स्थापितहरू पहिले देखि नै वास्तुशिल्पीहरु हुन् । नयाँ नारायणहिटी दरबार तैयार भएपछि आफ्ना ज्वाइँ राजा पृथ्वी वीर विक्रमका लागि दिए । त्यसपछि राजपरिवार हनुमान ढोकाबाट नारायणहिटीमा रहन थाले ।
यसपछि त दरबार बनाउने सिलसिला नै सुरु भयो । आफ्नो लागि चार बुर्जा दरबार, छोराहरूका लागि सेतो दरबार, फोहोरा दरबार आदि पनि जोगवीरलाई नै बनाउन लगाए । भूमिगत पानी बगाउनका लागि नालाको व्यवस्था पनि जोगवीरले वीर समसेरकै समयमा गरेका थिए । साथै टुकुचा नदीलाई हात्तीसारबाट भूमिगत बनाएर जय नेपाल सिनेमा हल भन्दा केही तलको भागमा निकालिएको थियो ।
यसरी अनुभव र पुर्खाहरूबाट प्राप्त ज्ञानबाट दरबार र नहरका डिजाइन गरेका जोगवीर पछि चन्द्रशमशेरका समयमा भने आफ्ना ठुला बुबा बद्री नरसिंह राणाका दुई छोरा अर्थात् भाइ कुमार नरसिंह र किशोर नरसिंहलाई इन्जिनियर अध्ययनको लागी भारत रूढकीमा रहेको थोमसन कलेज अफ इन्जिनियरिङमा पठाएका थिए । त्यहाँबाट अध्ययन गरी फर्केपछि चन्द्रशमशेरले पहिलो काम नै सिंहदरबार बनाउन दिएका थिए । वि.सं. १९६० मा सिंहदरबार तैयार भए पछि चन्द्रशमशेर सिंहदरबारमा नै बस्न गएका थिए । चन्द्रशमशेरले आफ्नो बेलायत यात्रामा किशोर नरसिंह राणालाई पनि बेलायत लगेका थिए ।
हार्पर एन्ड कम्पनीले बनाउने ठेक्का पाएको पहिलो पक्की झोलुङ्गे पुल त्रिशूलीको पुलको डिजाइन पनि कुमार नरसिंह राणाले नै गरेका थिए । यो पुल वि.सं. १९५७ मा तैयार भएको थियो । यस पुलको उद्घाटन समारोहको तस्बिरमा कुमार नरसिंह राणालाई देख्न सकिन्छ ।
वि.सं. १९७४ सालमा तैयार भएको चुरिया टनेल भने नेपालको पहिलो सुरुङ मार्ग थियो । यो सुरुङ मार्ग बनाउने चिफ इन्जिनियर दिल्लीजंग थापा थिए । राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयमा अमलेखगञ्जसम्मको बाटो बनाइएको थियो । पछि सोही बाटो बिस्तारको क्रममा बिचमा रहेको विशाल चुरीयाको पहाडले बाटो रोक्यो । भर्खर मात्र भारतको रुडकीबाट इन्जिनियरिङ गरेर आएका दिल्लीजंग थापालाई यसको जिम्मा दिइयो । उनको सफल नेतृत्वमा यो असम्भव कार्य सम्भव भयो । ९ फिट चौडा १० फिट अग्लो र ७८५ फिट लामो यो सुरुङको उपयोग २०२७-२८ सालसम्म भएको देखिन्छ । त्यसपछि यसलाई बन्द गरियो ।
यसरी नेपालको राणाकलामा इन्जिनियरिङका विशेष कामहरू भएका थिए ।

प्रतिक्रिया