सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका-७ बर्छुवा चोकस्थित सडकमा बर्छुवा चोकबाट मुसहरी टोलतर्फ जाँदै गरेको को.३४ प ५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय पारस यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रूपन्देहीको गैडहवा गाउँपालिका–८ सितलडाँडास्थित सडकमा लु.६१ प ७२३८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–१ सन्धिखर्क घर भएकी ६८ वर्षीया कुमारी कुँवरको मृत्यु भएको छ ।
शनिबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दाङको लमही नगरपालिका–५ सुनखोलीमा लु.३ च ४८१४ नम्बरको बोलेरो पिकअपले किचेर सोही ठाउँ बस्ने २१ वर्षीय राकेश कुमार बानियाँको आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि पार्किङ गरी राखेको बोलेरोको पछाडीको टायरमा ओत लगाएको ढुङ्गा निकाल्ने क्रममा बोलेरो ब्याक भई किच्दा गम्भीर घाइते भएका राकेशको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया