बच्चाको मधुमेहको परीक्षण र उपचार नि:शुल्क गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताएका छन् ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उहाँले सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताएका हुन् । वंशानुगत रोगसहितका अन्य रोगका बारेमा विशेष कार्यक्रम ल्याएर बालबालिकालाई सम्बोधन गर्नुपर्ने उनले बताए ।
बच्चाहरुलाई हुनसक्ने समस्याका बारेमा सबैले सावधानी अपनाउनुपर्ने र सरकारले उपचारमा सहजीकरण गर्नुपर्ने मन्त्री पौडेलले बताए । बालबालिका र ज्येष्ठ नागरिकको उपचारलाई निःशुल्क कसरी बनाउन सकिन्छ भन्नेतर्फ राज्यले नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
राज्यले स्वास्थ्योपचारमा सहयोग पु¥याउन सक्दैन भने त्यो लोककल्याणकारी राज्य नभएको उनले जिकिर गरे ।
कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा सुशील कोइरालाले मधुमेह दुई प्रकारको हुने उल्लेख गर्दै बालबालिकालाई लाग्ने यस रोगलाई ‘मधुमेह टाइप १’ नामकरण गरिएको बताए ।
मधुमेह टाइप १ लागेका बालबालिकाको सङ्ख्या धेरै भएको हुनसक्ने भन्दै उहाँले नेपालमा अहिले ६०० बिरामी सूचिकृत रहेको बताउनुभयो । “कति बिरामी उपचारका लागि आउनुभएको छैन, कतिले भारतमा गएर समेत उपचार गराइराख्नुभएको छ”, उहाँले भन्नुभयो, “मधुमेह लागेका बालबालिकाको एकिन तथ्याङ्क हामीसँग छैन ।”
नेपालका विभिन्न पाँच अस्पतालबाट मधुमेह टाइप १ को उपचार भइरहेको उनले बताए । यो रोग किशोरावस्थामा सुरु हुने भएकाले यससम्बन्धी विशेष सतर्कता र सावधानी अपनाउनुपर्ने डा कोइरालाले बताए ।

प्रतिक्रिया