‘दबाब र प्रभावमा फरार प्रतिवादी उम्कन सक्दैनन्’

वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक वर्षमा एक हजार पाँच सय एघार जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
गत आव २०८१र८२ मा लक्ष्यको दोब्बरभन्दा धेरै फरार प्रतिवादी पक्राउ गरेर कानुनी दायरामा ल्याएको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए ।
उनले गत आर्थिक वर्षमा विभिन्न अदालतमा मुद्दा दर्ता भई नेपाल तथा भारतको विभिन्न स्थानमा लुकिछिपी बसेर फरार रहेका तथा अदालतबाट अपराध ठहर भए पनि पक्राउ नपरेका प्रतिवादीलाई धमाधम पक्राउ गरेको जानकारी दिए ।
प्रहरी प्रमुख मिश्रले फरार प्रतिवादी पक्राउ नपर्दा समाजमा अराजकता तथा नैराश्यता छाउने प्रहरीले उच्च प्रथामिकता राखेर पक्राउ गरेको बताए । पर्सा प्रहरीले विगत १२ वर्षदेखि फरार प्रतिवादी पक्राउ गरेर अदालतको फैसलासमेत कार्यान्वयनमा ल्याएको हो ।
‘पक्राउ परेका सबै खालका प्रतिवादी एकमुष्टमा ७३ वर्ष दुई महिना कैद सजाय भोग्नेछन्, ‘’उनले भने, ‘अदालतले आर्थिक जरिवाना गरेका फरार प्रतिवादीबाट रु तीन करोड ५५ लाख १२ हजार नौ सय ५६ जरिवानासमेत असुलउपर गरेका छौँ ।’ पर्सा प्रहरी प्रमुख मिश्रले अब जिल्लामा कुनै बाहानामा फैसलाको दबाब र प्रभावमा फरार प्रतिवादीहरु उम्कन नसक्ने पनि दाबी गरे । -रासस

प्रतिक्रिया