नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति देउवा

नेपालखोज २०८२ साउन ६ गते ११:१५

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् ।

कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज यहाँ बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तक्र्रियामा उनले बिपीको मेलमिलाप नीति आजपनि सान्दर्भिक भएको बताए ।

सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रको पक्षमा बिपी कोइराला उभिएको स्मरण गरे । राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सद्भाव ठूलो हो भन्नेमा बिपीको दृढ मत भएको उनको भनाई छ । उनले बिपी कोइराला राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको उल्लेख गरे ।

प्रतिक्रिया