ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

नेपालखोज २०८२ साउन ६ गते १४:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले राससलाई जानकारी दिए ।

उनले भने, ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ । विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरिया नगरपालिका–२ घर भई हाल काठमाडौं–३२ बस्ने ३३ वर्षीय सुदीपकुमार यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

उनले भने, पक्राउ परेकामध्ये जुनुले स्लोभाकिया पठाइदिने भन्दै तीन लाख १० हजार र सुदीपले सर्बिया पठाइदिने भन्दै १८ लाख ५४ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया