विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर : नेता आचार्य

नेपालखोज २०८२ साउन ६ गते १६:५३

गण्डकी । नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका पछि दगुर्ने क्रमले पार्टी सङ्गठन कमजोर बन्ने गरेको बताएका छन् ।

बिपी कोइलालाको ४३औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा नेता आचार्यले पछिल्लो समयमा विचारका पछि नभई गुटका पछि दगुर्ने प्रवृत्ति बढिरहेको बताए । गुटप्रतिको दासत्वले कांग्रेस गाँजिएको बताउँदै उनले त्यसबाट माथि उठ्नु जरुरी रहेको धारणा राखे ।

बिपीका निष्ठा, समर्पणबाट वर्तमानमा धेरै सिक्न सकिने बताउँदै नेता आचार्यले सत्ताको मात्रै खेल हुँदा त्यसले देशमा दुर्गति निम्त्याउने जिकिर गरे । प्रजातन्त्र नभई राष्ट्रियता बलियो नहुने उल्लेख गर्दै उनले बिपीले देश र जनताका लागि ठूलो बलिदानी गरेकाे बताए ।

पछिल्लो समयमा आर्थिक क्षेत्रमा देखिएको गतिहीनताले निराशा छाएको र सुशासनसँगै देशभित्र रोजगारीको सिर्जनालगायतका कुरामा ध्यान दिनु जरुरी भएको बताए ।

प्रतिक्रिया