बिपीको बिदाइ

४३ वर्ष अगाडि यसै बेला बिपी कोइरालाको निधन भएको थियो । हार्दिक श्रद्धाञ्जली बिपी कोइराला प्रति । हुन त साउन ६ नेपालको इतिहासमा दुखद दिनका रूपमा लिनुपर्ने दिन हो । यसै दिनमा हामीले महान् साहित्यकार बालकृष्ण सम तथा महान् गायक अरुण थापालाई गुमाएका थियौ ।
वि.सं. १९७१ भाद्र २४ गते जन्मनु भएका विश्वेश्वर प्रसाद कोइरालाको राजनैतिक उपलब्धि मात्र १८ महिने प्रधानमन्त्री काल होइन । बि. पि. भारतीय राजनीति र नेपाली राजनीतिमा कहलिएका नेता हुन । तर एकदमै कमलाई जानकारी होला उनी न त राजा महेन्द्रका प्यारा थिए न त नेहरुले नै मन पराउँथे । वि.सं. २००६ को राजा त्रिभुवनको भारत प्रवासमा हैदराबाद भवनमा बसाइएका राजा सँग बिपीलाई भेट्ने अवसर नै दिइएन ।
प्रजातन्त्र पछि पनि मोहनशम्शेर राणा नै प्रधान मन्त्री रहे तर बबर शमशेर रक्षा मन्त्री र बिपी गृहमन्त्रीमा को ठुलोको विवाद रहिरह्यो । २००८ सालमा नै गृहमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका बिपी पछि पुन सत्तामा पुग्न अर्को ८ वर्ष लाग्यो । २००८ सालमा मोहनशम्शेर पनि बबरशम्शेरले झैँ बेङग्लोर गए । यसपछि वास्तवमै राणा शासन समाप्त भयो । राजनैतिक खिचातानीमा बिपीले दाजु मातृकालाई कांग्रेसबाट निष्कासन गरेका थिए । यसपछि मातृकाले नयाँ पार्टी बनाएर प्रधानमन्त्री बन्न सफल भए । मातृका वास्तवमा नेहरूको कठपुतलीका रूपमा थिए । यसर्थ २०१५ सालको आम चुनाव भयो काँग्रेसको बहुमत आयो तर राजा महेन्द्रले संसद् बैठक बोलाउनै चाहेनन् ।
फाल्गुन ७, २०१५ मा चुनाव भएको भए पनि जेठ १५, २०१६ मा बल्ल बिपी प्रधानमन्त्री बने । यस बिच वैशाख ३१, २०१६ मा काँग्रेसको सातौँ अधिवेशनले बिपीलाई नै पार्टी अध्यक्ष चुनेको थियो । र अन्तमा १८ महिना नबित्दै नेहरुको इशारामा पौष १, २०१७ को घटना घट्यो । हुन त नेहरुले बिपीलाई मात्र हटाउने सल्लाह दिइएको भनिन्छ । तर पौष १ भन्दा तीन दिन अगावै भारतीय सेनापति थिमैयालाई नेपाल पठाएर नेपाललाई नजिकबाट नियाल्न र आवश्यकता परे भारतीय सेना परिचालन गर्ने अनुमति थिमैयालाई नेहरुले दिएका थिए । तर संयोग २०१७ को घटना त्यति भयावह भएन, जति नेहरु र राजा महेन्द्रले आकलन गरेका थिए ।
०१७ सालमा राजा महेन्द्रबाट जन निर्वाचित सरकारलाई अपदस्त गराएपछि जेल परेका बिपी ८ वर्ष पछि भारत प्रवासमा रहे । बम्बइमा उपचार गर्न पुग्दा लन्डनबाट फर्किएका राजालाई भेट्ने प्रयास गरे पनि भेट हुन पाएन । २०२७ को साउनमा भारतीय परिचय पत्रको सहयोगले युरोप पुगे । नेपाल सरकारले त्यो समय बिपीका लागि पासपोर्ट बनाउन तैयार भएको थिएन । पुसतिर युरोपबाट फर्किए पनि नेपाल आउन भने सम्भव भएन । राजा महेन्द्रको देहावसान पछि राजा वीरेन्द्रबाट नेपाल फर्कन पाउने आशामा रहनुभयो । राष्ट्रिय मेलमिलापको उद्देश्य सहित २०३३ पुस १६ गते पटनाबाट जहाज चढेका बिपी राजा वीरेन्द्रको शासन कालमा पुन फर्केर नेपाल आए तर विमानस्थलबाट सिधै सुन्दरी जल लगियो । स्वागतार्थ बसेका किशुनजी लगायतका हरूलाई पनि कैद गरियो ।
२०३६ सालको आन्दोलनको समय समेत नजर बन्दमा रहेका बिपी पछि भने मुक्त भएका थिए । लामो आन्दोलन पछिको निर्णायक आम निर्वाचनमा समेत बहुदलले विजय प्राप्त गर्न सकेन । घाँटीको क्यान्सरले ग्रस्त बिपीलाई अन्तमा जीवनको अन्तिम बिन्दुमा पुर्यायो । उपचारका लागि बैंकक लगिएका बिपी उपचार हुन नसक्ने भएपछि जीवनको अन्तिम क्षण नेपालमा नै रहने भनिए पछि २०३९ सालको साउन ६ गते दिउसो ४ बजे काठमाडौं ल्याइएका बिपी विमानस्थलबाट चाबहिलमा रहेको तारिणीको कोठामा लगियो । त्यहीँ साँझ ७ बजे जीवनबाट मुक्त हुनुभयो ।
सधैँ कैद र मुक्तिको खेलमा रहेका बिपी अन्ततः २०३९ साउन ६ गते साँझ ७ बजे यो खेलबाट सदाका लागि मुक्त हुँदै बैकुण्ठवास भए । यो समाचार क्षणमै देशभर फैलियो । भोलिपल्ट शवयात्राको कार्यक्रमका लागि असङ्ख्य भिड जम्मा भयो । खुला ट्रकमा राखिएको शवका साथ असङ्ख्य प्रशंसक,पार्टीका कार्यकर्ता तथा सर्वसाधारणले अन्तिम समयमा साथ दिँदै नगर परिक्रमा गर्दै पशुपति आर्यघाट लगियो । मानिसले वास्तवमा कमाउने भनेको मलामी कमाउने भन्ने गरिन्छ । बिपीले जति मलामी कमाए त्यति नेपालमा शायदै अन्यले कमाए होला भन्ने गरिन्छ ।

प्रतिक्रिया