‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरणकाे मुख्य दोष कम्युनिष्टहरुको हाे’

नेपालखोज २०८२ साउन ६ गते १८:५२

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरुको मुख्य दोष रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन बिषयक कार्यक्रममा बोल्दै विप्लवले कम्युनिष्ट र त्यसमा पनि माओवादीका कारण नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण भएको बताएका हुन् ।

उनले कम्युनिष्टहरुले आफ्नो विचार, वर्ग, आदर्शलाई छोडेका कारण मुलुक लथालिङ्ग भएकाले अरुलाई दोष दिएर उम्कीने ठाँउ नरहेको धारणा राखे । उनले तत्कालिन अवस्थामा केपी ओली प्रधानमन्त्री हुँदा नेकपासंग गरेको तीन बुँदे सहमति अझै लागू नभएको भन्दै उक्त सहमति लागू गर्न माग गरे ।

उनले आफुहरु कम्युनिष्ट सिद्धान्तमा अघि बढेको भन्दै कुर्सीका लागि मरिहत्ते गर्ने पार्टी आफ्नो नभएको जिकिर गरे । विप्लवले अव आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने र आफुलाई जिताउन जनतालाई आह्वान गरिने स्पष्ट पारे ।

त्यस्तै नेकपा माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अहिले राजनीतिक दलहरुको ध्यान देश र जनतामा भन्दा पनि गठबन्धन बनाउने र सरकार जोगाउनेमा केन्द्रीत रहेको जिकिर गरे ।

दल नेताहरुकै कारण जनतामा निराशा बढ्दै गएको उनले बताए । शर्माले खुलेआम भ्रष्टाचार बढ्दै गएकाले आफुले नेताहरुको सम्पती छानविनका लागि पार्टीमा आवाज उठाएको बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले कम्युनिष्ट आन्दोलनमा विरोधाभाष देखिएको बताए । मुलुकमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने भएपनि घुस नखाने राज्य व्यवस्था बनाउन नसक्नु दुर्भाग्य भएको उनले बताए ।

प्रतिक्रिया