बागलुङमा बाढी-पहिरोको जोखिम : ५,८७२ घर खतरामा

बागलुङमा हरेक वर्ष मनसुनमा बाढी र पहिरोले धनजनको क्षति पुर्याउने गरेको छ। यस वर्ष पनि जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्र पहिचान गरी नागरिकलाई सचेत गराइरहेको छ । जिल्लाभर ५,८७२ घर बाढी-पहिरोको जोखिममा छन् । समितिले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन सुझाएको छ ।
जिल्लाका अधिकांश बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले बाढी-पहिरोको जोखिम उच्च छ । निसीखोला गाउँपालिकामा २,४३८ घर सबैभन्दा बढी जोखिममा छन् भने जैमिनी नगरपालिकामा १६ घर मात्र जोखिममा छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बागलुङ नगरपालिकामा १,५५४, ढोरपाटनमा ३९०, गलकोटमा १२५, बरेङमा २१०, बडिगाडमा १६०, तमानखोलामा ११५, ताराखोलामा १४४ र काठे खोलामा ७२० घर जोखिममा छन् । घरसँगै विद्यालय, सिँचाइ, कुलो, विद्युत् गृह र सयौँ रोपनी खेतीयोग्य जमिन पनि खतरामा छन् ।
पौडेलले भने, बर्सातको समयमा जोखिम क्षेत्रमा बाढी-पहिरोको खतरा छ। नागरिकले जोखिम नमोलेर सुरक्षित स्थानमा बस्नुपर्छ। विगतमा बाढी-पहिरोले धेरैको ज्यान गएको छ। निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले हुल्दी क्षेत्रका बस्ती अन्यत्र सार्नुपर्ने र एकीकृत बस्ती निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरिने बताए।
विपद् व्यवस्थापनका लागि पालिकाले ‘विपद् व्यवस्थापन कोष’ मा ३० लाख रुपैयाँ राखेको छ। उद्धार प्रभावकारी बनाउन निसीखोलाका तीन वटै चौकीमा उद्धार सामग्री हस्तान्तरण गरिएको छ। पुनमगरले भने, सीमित स्रोतले बस्ती स्थानान्तरण सम्भव छैन। सचेतना फैलाउने र राहत-उद्धारको तयारीमा छौँ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया