विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई शैलुन तालिम

नारायण अधिकारी २०८२ साउन ७ गते १३:०५

चितवन । विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय सञ्चालन गर्दै आएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिएका छन् । उनीहरुमध्ये १२० जनालाई उनले निःशुल्क तालिम दिएका हुन् ।

भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा पपुलर शैलुन सञ्चालन गर्दै आएका छन् । उनले त्यहीबाट तालिम र कपाल काट्ने काम गर्दै आएका छन् । बाह्र वर्षअघि तीन वर्ष विदेश बसेर फर्केका सिग्देलसँग तालिम लिएका ३२ जनाले चितवन र आसपासका क्षेत्रमा शैलुन सञ्चालन गर्दै आएका छन् ।

उनले भने, यहाँ सिकेर नेपाल र विदेशमा अरुको सैलुनमा काम गर्ने धेरै छन् । विभिन्न सङ्घ संस्थाको साझेदारीमा धेरै तालिम सञ्चालन गरेको उनले बताए । नीजि खर्चमा तालिम लिन आउनेहरु पनि प्रसस्तै हुने गरेका छन् । पछिल्ला वर्षहरुमा शैलुन सुरु गरेको दिन पारेर निःशुल्क तालिम समेत दिने गरेको उनले बताए ।

यस वर्ष उनले १०१ जना युवालाई निःशुल्क सीपमूलक तालिम घोषणा गरेका छन् । सिग्देलले आफ्नो कम्पनी पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसर पारेर युवालाई निःशुल्क सीपमूलक तालिम दिने घोषणा गरेका हुन् । पपुलरले सामाजिक उत्तरदायित्वअन्तर्गत कपाल काट्ने, उद्घोषण, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुव्र्यसनीसम्बन्धी सचेतनामूलक तालिम दिन लागेको उनले बताए ।

कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २० जना, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी तालिम २० जनाभन्दा बढीलाई दिइने उनले बताए । नेपालमै स्वरोजगार बन्न चाहानेका लागि प्राथमिकतामा राखिनेछ, उनले भने, विदेश पलायन हुनेक्रमलाई केही हदसम्म भए पनि कम गर्न सहयोग पुग्नेछ ।

सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई टपरी बुन्ने तालिम दिइने उनले बताए । विद्यार्थीदेखि विदेश गएर फर्किएका युवायुवतीलाई लक्षित गरी हामीले तालिम दिन लागेका हौँ, उनले भने, सबै तालिमहरु हामीले एक महिनाभित्र दिइसक्छौँ । नब्बे घण्टा लामो कपाल काट्ने तालिम एक महिनामा सक्ने लक्ष्य रहेको उनले बताए । व्यावसायिक रुपमा कपाल काट्ने तालिम लिने एक जनाबाट ३० हजार लिने गरिएको उनले बताए ।

प्रतिक्रिया