एमआरपी कार्यान्वयनमा देखिएको अन्योलताबारे चेम्बर अफ कमर्सको ध्यानाकर्षण

नेपालखोज २०८२ साउन ७ गते २०:२२

काठमाडौं । एमआरपी कार्यान्वयनमा देखिएको अन्योलताबारे नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण गराएको छ ।

नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपी कार्यान्वयनमा देखिएका समस्याबारे आज यहाँ मन्त्री भण्डारीको उपस्थितिमा निजी क्षेत्रका उद्यमी व्यवसायीसँग बृहत अन्तरक्रिया गरेको थियो ।

सो कार्यक्रममा एमआरपी कार्यान्वयनमा देखिएको अन्योलता एवं पर्याप्त जनचेतना नहुँदा आम उपभोक्तामा परेको असरबारे चेम्बरले सरकारको ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा चेम्बरका पदाधिकारी एवं निजी क्षेत्रका सयौँ उद्यमी व्यवसायीको सहभागिता थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मन्त्री भण्डारी समक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिको आधारमा मात्रै एमआरपी कार्यान्वयनमा लैजानुपर्ने बताए ।

उनले भने, ‘वाणिज्य आपूर्ति एवं उपभोक्ता संरक्षण विभागले केही समयदेखि बजारमा कडा अनुगमन सुरु गरेको छ र एमआरपी उल्लेख नभएको पाइएमा अधिक जरिवाना लगाउने गरेको छ ।’ देशमा अधिकांश उपभोग्य सामानका लागि आयातमा निर्भर हुनुपरेकाले एमआरपी लेवलको व्यवस्था आयातित वस्तुको हकमा लागू गर्न निकै कठिन हुने अध्यक्ष अग्रवालको भनाइ छ ।

कार्यक्रममा निजी क्षेत्रका अधिकांश पदाधिकारीले निजी क्षेत्रका एमआरपी र लेवलिङको नाममा भएको अनुगमनका कारण व्यवसायीले अनावश्यक दुःख पाउनुपरेको गुनासो गरेका थिए । -रासस

प्रतिक्रिया