शनिबार, मंसिर २७, २०८२

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

नेपालखोज २०८२ साउन ७ गते २०:२८

बेलायत । अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित भएकी छन् ।

महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित भएकी हुन् ।

सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डस्का सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरुको सशक्तीकरण र महिला स्वास्थ्य, पुर्नजीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताए ।

सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तीकरणमा काम गर्न प्रेरणा मिलेको बताइन् । महिलाको सशक्तीकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एशियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिइन् ।

‘यो क्षण म जीवनभर सम्झिरहने छु’, उनले भनिन्, ‘यो साँच्चिकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लड्र्समा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तीकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।’

बङ्गलादेश, भारत, पाकिस्तान र नेपाललगायतका ग्रामीण भेगमा अनेक कष्ट सहेर बाचिँरहेका महिलाहरु पीडित नभइ योद्धा भएको उनको भनाइ छ । दक्षिण एशियाभर नेपालका पहाडदेखि ढाकाका सडक र भारत, पाकिस्तानको ग्रामीण केन्द्रविन्दुसम्म महिलाहरूले विशाल चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरिन् । -रासस

प्रतिक्रिया