झुलाघाट भन्सारबाट ७६ लाख ४३ हजारभन्दा बढी राजस्व सङ्कलन

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा ७६ लाख ४३ हजार २४३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ६५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।
गत आवमा एक करोड तीन लाख ५९ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्य पूरा हुन नसकेको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताए । राजस्व सङ्कलनको लक्ष्य बढी भएकाले गत आवमा लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ ।
उहाँका अनुसार भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको हो । आव २०८०/८१ मा कार्यालयको ५० लाख ८९ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी ८६ लाख ८४ हजार ९० रूपैयाँ सङ्कलन भएको थियो ।
झुलाघाट नाकाबाट कपडा, भाँडाकुँडा, चिनीलगायत घरायसी प्रयोजनका सामग्रीहरू भित्रिने गरेको छ । भारतीय बजारबाट आयात हुने सामग्रीबाट राजस्व सङ्कलन हुने गरेको कार्यालयका लेखापाल देवराज रानाले जानकारी दिए । उनका अनुसार यस नाकाबाट निर्यात भने शून्य छ । केही वर्ष अघिसम्म घ्यू र कृषि उपज निर्यात हुने गरेको थियो ।

प्रतिक्रिया