लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

नेपालखोज २०८२ साउन ८ गते १७:०६

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनाको औचित्य प्रमाणित गर्न नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । संवैधानिक र कानुनी सुधार, सुशासन र पारदर्शिता, विकास परियोजना, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, कृषि र रोजगार, पयर्टन, संस्कृति र वातावरण तथा जनतासँगको संवादलगायत काममा प्रदेश सरकार सक्रिय रहेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा ‘एक वर्षे कार्यकालका उपलब्धि’ विषयक कार्यक्रम आयोजना गरी एक वर्षका उपलब्धि सार्वजनिक गर्नुभएको हो । सरकार गठन भएको एक वर्षको अवधिमा प्रदेश सरकारले ७६ बुँदे उपलब्धि सार्वजनिक गरेको छ ।

सङ्घीयताको सवलीकरण र प्रदेशलाई सक्षम बनाउन शासकीय सुधार, नीति तथा कानुन निर्माणसँगै त्यसको कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकारले सफलता हासिल गरिरहेको जनाइएको छ । सङ्घीयताको संस्थागत अभ्यासमा प्रदेशले अग्रणी भूमिका निर्वाह गरेको, सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएका नीति तथा कार्यक्रमले प्रदेशलाई सङ्घीय अभ्यासको ढाँचामा उभ्याउने प्रयास गरिएको उनले बताए ।

एक वर्षको अवधिमा सरकारले आफ्ना काम जनस्तरसम्म पुर्‍याउँदै विकासप्रतिको नागरिकको अपेक्षा सम्बोधन गर्न सफल भएको, सुशासन, पारदर्शिता र जवाफदेहितालाई नागरिकस्तरमा अनुभूत गराउन प्रदेश सरकारले अहम भूमिका निर्वाह गरिरहेको मुख्यमन्त्री आचार्यले बताए ।

सरकारले चालु खर्चलाई घटाउँदै विकास खर्चलाई बढाएर लैजाने सन्दर्भमा अनावश्यक चालु खर्च न्यून गर्दै लगिरहेको छ भने पूर्वविशिष्ट श्रेणीका पदाधिकारीलाई दिँदै आइएको सेवासुविधा पनि कटौती गरिएको उनले जानकारी दिए । प्रदेश सरकारको खर्च गर्ने क्षमतासँगै आम्दानीसमेत निरन्तर बढ्दै गइरहेका बताउँदै उनले यो एक वर्षको उपलब्धि मानिएको उल्लेख गरे ।

यस अवधिमा आर्थिक वर्ष २०८०/८१ मा कुल खर्च ६६ दशमलव १४ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८१/८२ मा ७२ दशमलव शून्य नौ प्रतिशत पुगेको छ । प्रदेश सरकारले गरेको नीतिगत सुधार एवम् प्रभावकारी अनुगमनका कारण प्रदेशको आन्तरिक आम्दानी बढ्दै गएको मुख्यमन्त्री आचार्यले धारणा राखे ।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ५० करोड रूपैयाँ आन्तरिक राजस्व बढेको छ । अघिल्लो वर्ष चार अर्ब ५० करोड रूपैयाँ राजस्व सङ्कलन भएकामा गत आवमा रु पाँच अर्ब ६४ करोड राजस्व सङ्कलन भएको हो ।

प्रतिक्रिया