गेट कलेज र जापानको टोनो शहरबीच ऐतिहासिक सहकार्य सम्झौता सम्पन्न

नेपालखोज २०८२ साउन ८ गते १८:४६

काठमाडौं । काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) र जापानको टोनो शहरबीच पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा विद्यार्थी आदानप्रदानका लागि एक ऐतिहासिक त्रिपक्षीय सहकार्य सम्झौता सम्पन्न भएको छ ।

ऐतिहासिक सम्झौतापछि नेपाली विद्यार्थीहरूलाई जापानमा इन्टर्नशिपको अवसर प्रदान गर्नुका साथै दुई देशबीच सांस्कृतिक आदानप्रदान र मानव संसाधन विकासमा नयाँ आयाम थप्नेछ । यो सम्झौताको मुख्य उद्देश्य नै नेपाली विद्यार्थीहरूलाई जापानी आतिथ्य सत्कार उद्योगको प्रत्यक्ष अनुभव दिलाउनु हो ।

यस पहलले आतिथ्य सत्कारका लागि आवश्यक मानव संसाधनको विकास मा सहयोग पु¥याउनेछ । साथै, यसबाट नेपाल र जापानबीच अन्तर्राष्ट्रिय आदानप्रदान र बहुसांस्कृतिक सहअस्तित्वलाई प्रवद्र्धन हुनेछ । यसले भविष्यमा जापानमा विदेशी मानव संसाधन स्वीकार गर्ने आधार तयार पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । बिहिबार आयोजित एक विशेष समारोहमा गेट कलेज, टोनो सिटी र टोनो कं., लिमिटेडबीच यो महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भयो । हस्ताक्षर समारोहमा जुममार्फत अनलाइन उपस्थितिमा तीनवटै पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै टोनो सिटीका मेयर काजुहिको टाडाले यो ऐतिहासिक सहकार्य सम्झौताप्रति खुसी व्यक्त गर्दै यस पहललाई आफ्नो शहरको अन्तर्राष्ट्रियकरणतर्फको महत्वपूर्ण कदम भएको बताएका छन् । सम्झौता हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै मेयर टाडाले यस सहकार्यलाई ’अत्यन्त अर्थपूर्ण’ रहेको बताए । उनका अनुसार यसले नेपालमा पर्यटन र आतिथ्य सत्कार क्षेत्रमा समर्पित गेटका विद्यार्थीहरूलाई जापानमा व्यावहारिक अनुभव लिने अवसर प्रदान गर्छ भने टोनो शहरमा पनि नयाँ दृष्टिकोण र सांस्कृतिक प्रोत्साहन ल्याउँछ ।

मेयर टाडाले टोनो शहरले घट्दो जन्मदर, बढ्दो वृद्ध जनसंख्या र श्रम अभावजस्ता चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै समुदायमा विविध प्रतिभालाई प्रोत्साहन दिन र बहुसांस्कृतिक सहअस्तित्वलाई प्रवद्र्धन गर्न काम गरिरहेको जानकारी दिए । “यो सम्झौता भविष्यमा विदेशी प्रतिभालाई स्वीकार गर्ने र हाम्रो क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा एउटा ठूलो कदम हो, जसलाई टानो शहरले पूर्ण रूपमा समर्थन गर्छ,“ उनले भने । मेयर टाडाले यस सहकार्यले टोनो र नेपालबीचको सम्बन्ध अझ गहिरो हुने र व्यक्तिगत तथा सांस्कृतिक आदानप्रदान विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस सम्झौतालाई मूर्त रूप दिन अथक प्रयास गर्ने गेट कलेज र एरिया टोनोसँग सम्बन्धित सबैलाई गहिरो कृतज्ञता व्यक्त गर्दै यो पहल फलदायी हुने आशा व्यक्त गरे ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाइँले इएचएल स्विट्जरल्याण्ड, काठमाडौं विश्वविद्यालय र टेफ अष्ट्रेलियासँगको सहकार्यमार्फत गेट कलेजले १९ वर्षदेखि विद्यार्थीहरूको आशा र महत्वाकांक्षालाई मूर्त रूप दिँदै आएको स्मरण गर्दै टोनो शहरसँग भएको ऐतिहासिक सम्झौता नेपाल र जापानबीचको साझा सपनाको सुरुवात भएको बताए । लकाइँले यस साझेदारीलाई परिवार निर्माण गर्ने अवसरका रूपमा व्याख्या गर्दै ठूला सपना बोकेका विद्यार्थीहरूले जापानमा प्राप्त गर्ने परिवर्तनकारी अनुभवले साँच्चिकै अर्थ राख्ने विश्वास व्यक्त गरे ।

टोनो कं., लिमिटेडका सीईओ सुकी सुजुकीले नेपालको गेट कलेज र टोनो सिटीसँगको ऐतिहासिक इन्टर्नशिप सम्झौतालाई टानोको पर्यटन विकासका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । सुजुकीले ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटनको पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय दृष्टिकोण भएका मानव संसाधनको विकास र बहुसांस्कृतिक समझदारीलाई बढावा दिनु आवश्यक रहेकोमा जोड दिए । उनले भने, “अन्तर्राष्ट्रिय दृष्टिकोण भएका इन्टर्नहरूले स्थानीय क्षेत्रमा काम गर्दा र सिक्दा सेवाको गुणस्तरमा सुधार मात्रै ल्याउँदैनन्, बरु विदेशी पर्यटकहरूका लागि आकर्षक स्वागत प्रणाली निर्माणमा पनि प्रत्यक्ष योगदान पुग्छ ।“

सुजुकीले यो पहलले भविष्यमा दिगो पर्यटन क्षेत्र निर्माण गर्न र अन्ततः नेपाल र टानोबीचको पुल बन्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे । यो सम्झौतापछि गेटका विद्यार्थीहरूले जापानको टोनो शहरमा पर्यटन, आवास र आतिथ्य सत्कार क्षेत्रमा इन्टर्नशिपका अवसरहरू प्राप्त गर्ने छन ।

प्रतिक्रिया