संविधानमा व्यवस्था गरेअनुरुप काम गर्न ढिला भयो : प्रचण्ड

नेपालखोज २०८२ साउन ८ गते २१:१४

कीर्तिपुर (काठमाडौँ) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि देशमा उल्लेख्य प्रगति भए पनि संविधानले व्यवस्था गरेका मौलिक हकलाई कार्यान्वयन गर्नबाट राजनीतिक नेतृत्व चुकेको बताएका छन् ।

अध्यक्ष दाहालले अब संविधानको परिमार्जन गर्ने समय आएको बताए । ‘आर्थिक सूचक राम्रा छन् भनिएका बेला दैनिक हजारौँको सङ्ख्यामा युवा पलायन हुनु र देशले कुनैबेला निर्यात गर्ने खाद्य वस्तु अहिले अर्बौं रुपैयाँमा आयात हुने अवस्था किन आयो भन्ने विषयमा गम्भीर हुनुपर्छ’, उनले भने ।

अध्यक्ष दाहालले सुशासन कायम गर्नु देशको सर्वाधिक ठूलो चुनौती भएको उल्लेख गर्दै भ्रष्टाचारका कारण पनि नकारात्मक भाष्य फैलाउनलाई सहयोग पुगेको बताए । पूर्वप्रधानमन्त्री दाहालले माओवादी केन्द्रलाई अहिले पनि निजी क्षेत्र विरोधी शक्तिका रूपमा लिने गरिएको जिकिर गर्दै आफूले भने शान्ति प्रक्रियामा आएदेखि नै निजी क्षेत्रको अपरिहार्यताबारे बोल्ने गरेको र पदमा रहेका बेला निजी क्षेत्रसँग सर्वाधिक समय छलफल गरेको बताए ।

‘उदारवादले मात्र न्याय गर्दैन भनेका हौँ’, उनले भने । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सन् १९९० को तुलनामा मुलुकले मानव विकासका विभिन्न सूचकमा अभूतपूर्व फड्को मारेको उल्लेख गर्दै त्यसलाई जनतासम्म पु¥याउनु र तैपनि जनता निराश हुनुका कारणलाई सुक्ष्म ढङ्गले केलाएर सम्बोधन गर्नु सबै राजनीतिक शक्तिको कर्तव्य भएको बताए । -रासस

प्रतिक्रिया