जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि मधेस प्रदेशका सभामुखसहित धनुषा र महोत्तरी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरूसँग विशेष छलफल गरेका छन् ।
परिषद्का प्रतिनिधिसँग पटक-पटकको संवादबाट समस्या हल नहुँदा मन्त्री पाण्डेले सङ्घीय सांसदसँग प्रत्यक्ष छलफल गरे । छलफलका क्रममा मन्त्री पाण्डेले परिषद् स्थापनाकालदेखि नै यसमा विविध समस्या रहँदै आएको स्मरण गराउँदै भने, ‘परिषद् लामो समयदेखि समस्याग्रस्त छ, विनियमावली नबन्नु र संरचनागत अस्पष्टता मुख्य चुनौती बनेको छ ।’
छलफलमा सांसदहरूले ९०० बिघा जग्गा अपचलनमा परेको भन्ने विषयमा पनि गम्भीर छानबिन हुनुपर्ने बताएका थिए ।सांसदहरूले परिषद्को हालको संरचनाले काम गर्नै नसक्ने स्थिति सिर्जना भएको जनाउँदै यसको पुन:संरचना अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
छलफलमा सहभागी सांसदहरूले जनकपुर क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वलाई दृष्टिगत गर्दै परिषद्को प्रभावकारिता वृद्धि गर्न माग गरे ।

प्रतिक्रिया