कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

म्याग्दी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रघुगंगा गाउँपालिका–४ दग्नाम बस्ने के बहादुर गर्बुजालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
के बहादुर समेतका व्यक्तिहरूले साविक दग्नाम गाविस–२ बस्ने धनराम तिलिजाको धारिलो हतियार प्रहार गरी २०६० कात्तिक ६ गते हत्या गरेको घटनामा जिल्ला अदालत म्याग्दीको २०६८ जेठ ११ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले रघुगंगा गाउँपालिका–४ दग्नामबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत म्याग्दी पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको छ ।
करेन्ट लागेर मृत्यु
बीरेन्द्रनगर नगरपालिका–१२ नेवारे बस्ने ५५ वर्षीय धनिराम आचार्य र उनकै श्रीमती ५० वर्षीया धन कुमारी उपाध्यायको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा घाँस काट्ने विद्युतीय मेसिनबाट घाँस काट्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित बुद्धिराज एग्रो कृषि फर्म भित्र रहेको पानी जम्मा हुने पोखरीमा डुबेर सोही ठाउँ बस्ने राज खनालको छोरा ३ वर्षीय कुशल खनालको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
इलामको देउमाई नगरपालिका–९ बस्तिथुम्का बस्ने ४० वर्षीय सोम बहादुर मगर सोही नगरपालिका–९ देउमाई खोला नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको रत्ननगर नगरपालिका–१६ हात्तिगाडे बस्ने ७५ वर्षीय कर्ण बहादुर गुरूङ सोही ठाउँस्थित हातीगाडे नहरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–१२ शान्ति टोल बस्ने २९ वर्षीय शोभाकान्त काफ्ले आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
लमजुङको बेसीशहर नगरपालिका–८ झ्याङखोलास्थित करापुटार होटेलको कोठा नम्बर ४ मा कव्होलासोथार गाउँपालिका–२ मालिङ बस्ने ३५ वर्षीय आसमान गुरूङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया