बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी

खोटाङ । दिक्तेल-गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ ।
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल गत वर्षको असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो ।
फोक्सिङटारमा गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै बेलीब्रिजसमेत झिकिएपछि विकल्पका रूपमा घिर्नी जडान गरिएको हो ।
विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा-पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ-रेग्मी-चुरिया जेभीका ठेकेदार महेश रेग्मीले जानकारी दिए ।
फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि दिक्तेल-गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । सुनकोशीमा हिउँदमा मात्र अस्थायी बेलीब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रका लागि आवश्यक सामान ढुवानी गर्न कुनै विकल्प नभएपछि घिर्नी जडान गरिएको रेग्मीले बताए ।
खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने फोक्सिङटारमा १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो । दिक्तेल-गाईघाट (१०१ किलोमिटर) सडकखण्डअन्तर्गत फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पुल बगाएपछि गत पुस २७ गतेबाट अस्थायी बेलीब्रिज सञ्चालनमा ल्याइएको थियो ।
वर्षा लागेसँगै सुनकोशीमा पानीको बहाब बढेपछि गत जेठ ५ गतेबाट पूर्ण रूपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलीब्रिज झिकिएको थियो । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल-फोक्सिङटार-गाईघाट सडक खोटाङबाट पूर्वी तराईका विभिन्न सहर जाने तथा आउने छोटो दूरीको सडक हो । रासस

प्रतिक्रिया