तान्सेन खानेपानी व्यवस्थापनमा स्थानीय सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय छ : मन्त्री यादव

नेपालखोज २०८२ साउन १० गते १६:४३

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि पाल्पाको तान्सेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीयवासीको सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय रहेको बताएका छन् ।

आज पाल्पाको तानसेन स्थित तानसेन खानेपानी उपभोक्ता समितिको १० औँ साधारणसभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै मन्त्री यादवले ‘पानी जीवनको आधार, स्वच्छ पानी सबैको अधिकार’ भन्ने अत्यन्तै सान्दर्भिक नारालाई आत्मसात गर्दै खानेपानीको क्षेत्रमा यहाँका आम नागरिकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

तानसेन-कालीगण्डकी बृहत पम्पिङ् खानेपानी आयोजना सफलतापूर्वक कार्यान्वयन भएकाले जनताको घरदैलोमा शुद्ध, सुरक्षित र पर्याप्त खानेपानी पुर्याउँदै सरकारको ‘सबै नागरिकका लागि स्वच्छ पानी’ भन्ने सङ्कल्पलाई व्यवहारमा उतारेको प्रति मन्त्री यादवले खुशी व्यक्त गरे । खानेपानी मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रका योजना कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको र उक्त वजेटले यहाँका नागरिकलाई गुणस्तरीय सेवा दिने सरकारको लक्ष्यलाई अझ सार्थक बनाउने विश्वास व्यक्त गरे ।

स्थानीय तहको सक्रियतासँग सहकार्य गर्दै खानेपानी मन्त्रालयले हालसम्म ३१० भन्दाबढी स्थानीय तहहरूमा वास योजना तयार गरिसकेकाले खानेपानी, सरसफाइ र स्वच्छताको सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुर्याएको जिकिर गरे । त्यसैगरी मन्त्री यादवले स्थानीय उपभोक्ता समितिहरूलाई पनि खानेपानीको दिगो व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न आग्रह गरे ।

उनले पानीका मुहान संरक्षण, पाइपलाइन विस्तार, र स्रोतहरूको समुचित उपयोगमा स्थानीय सहभागिताको आवश्यकता औँल्याए ।

प्रतिक्रिया