अमेरिकामा बाढीको संकट : जलवायु परिवर्तनको गम्भीर संकेत

साक्रामेन्टो । अमेरिका सन् २०२५ को गर्मीयाम अमेरिकाको लागि विशेष रूपमा चुनौतीपूर्ण देखिएको छ ।
देशभर विनाशकारी बाढीहरूका श्रृंखलाले न केवल आपतकालीन सेवाहरूलाई दवावमा पारेका छन्, तर वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित खतराको गम्भीर संकेतका रूपमा पनि व्याख्या गरेका छन् ।
अमेरिकी मौसम विभागका अनुसार, यो वर्ष जुलाईसम्म मात्र तीन हजार ६०० भन्दा बढी आकस्मिक बाढी चेतावनी जारी गरिसकिएको छ ।
यो संख्या वार्षिक औसत (चार हजार) नजिक पुगिसकेको छ र अझ वर्षा जारी रहेमा यसलाई पार गर्न सक्ने अनुमान गरिएको छ । सबैभन्दा ठूलो असर टेक्सास राज्यमा परेको देखिएको छ ।
जुलाई ४ मा आएको बाढीले ग्वाडालूपे नदी उपत्यकामा गम्भीर क्षति पु¥यायो । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, राज्यभर कम्तीमा १३५ जनाको निधन भएको छ । तीमध्ये धेरैजसो कर काउन्टीमा रहेका थिए, जहाँ १०७ जनाले ज्यान गुमाएका छन् ।
करभिल नजिकको नदीमा ४५ मिनेटको छोटो अवधिमा ११.३ मिटरभन्दा बढी पानीको सतह बढेको मापन गरिएको थियो । यसले उद्धारकार्यलाई थप जटिल बनाएको जनाइएको छ ।
वैज्ञानिकहरूको विश्लेषण अनुसार, यस वर्ष समुद्रको सतहको तापक्रम अत्यधिक बढ्दा वायुमण्डलमा जलवाष्पको मात्रा धेरै पुगेको छ, जसले गर्दा वर्षा तीव्र भएको हो ।
जलवायु परिवर्तनका कारण भविष्यमा यस्ता घटना अझ गम्भीर र नियमित हुने सम्भावनातर्फ वैज्ञानिक सचेत गराइरहेका छन् ।
उनीहरूले बाढीको जोखिम न्यूनीकरणका लागि हरियाली पूर्वाधार, संशोधित भवन मापदण्ड र अद्यावधिक गरिएको बाढी नक्साको आवश्यकता औंल्याएका छन् । -रासस/सिन्ह्वा

प्रतिक्रिया