गन्तव्यमा नपुग्दै गुम्छ जीवन, नमान्दा ट्राफिक नियम

कमलामाई (सिन्धुली) । शनिबारको अँध्यारो हटेर शुक्रबारको उज्यालो बिहान आउन भ्याइसकेको थिएन । काठमाडौंबाट बर्दिबासतर्फ आउँदै गरेको योद्धा पिकअप बिपी राजमार्गबाट ५०० मिटर तल खस्यो । पिकअप मात्रै खसेन, सँगै बजारिए पिकअपका यात्रु । यो घटना बिपी राजमार्गअन्तर्गत रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शीतलपाटीको हो । जहाँ बा.प्र.०१–०२४ च ९९१३ नम्बरको पिकअप दुर्घटनामा एक जनाको घटनास्थलमा नै ज्यान गयो, अर्का एक गम्भीर घाइते ।
दुर्घटनामा मृत्यु हुने व्यक्ति हुनु हुन्थ्यो, मकवानपुर मनहरी गाउँपालिका–४ निवासी धर्मराज रेग्मी । दुर्घटनामा परेका धर्मराजलाई सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरिदिए । उनको शव सिन्धुली अस्पतालमा शवपरीक्षण गरेर प्रहरीले आफन्तलाई बुझायो । गम्भीर घाइते गाडी चालक निरजलाई थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ ।
दुई महिनाअघि मदन भण्डारी राजमार्ग छेउमा दुधौलीका मन्देश सदा आफ्नै बालसुलभ दुनियाँमा थिए । उदयपुर कटारीबाट डकाहा जाँदै गरेको कारले उनलाई सडक पार गर्दै गर्दा ठक्कर दिँदा गम्भीर घाइते भयो । उनलाई स्थानीय स्वास्थ्य संस्था दुधौली नगर अस्पताल सिथौँली पुर्याइयो । अस्पताल पुग्दासम्म उनको ज्यान गइसकेको थियो । ट्राफिक नियमको बेबास्ता अनि सुरक्षा पूर्वाधारको अभावले बालकको जीवन बाटोमै समाप्त भयो । सडक पार गर्दा सतर्कता नअपनाउने १० वर्षीय बालकको परिवार शोकमा डुब्यो ।
चालकले ट्राफिक नियमको उल्लङ्घन नगरिदिएको भए, सडकमा सुरक्षा व्यवस्था कडा भएको भए मेरो छोरो आज हामीसँगै हुने थियो, मृतक मन्देशका बुबा गङ्गाराम सदाले भने, त्यो दुर्घटनाले जीवनभरलाई पीडा दिएको छ । सडक दुर्घटनामा परेर छोरोको मृत्यु भएदेखि सडकमा हिँड्न आफूलाई डर लाग्ने गरेको उनले सुनाए । उनले भने, अब अरूका बालबालिकाले सडक दुर्घटनामा परेर ज्यान गुमाउन नपरोस् । यसका लागि नागरिकस्तरमा जनचेतना जगाइयोस्, सुरक्षा व्यवस्था कडा बनाइयोस् ।
सडक दुर्घटनामा ज्यान भएका धर्मराज र मन्देश त प्रतिनिधि पात्र मात्रै हुन् । विसं २०८१ साउनदेखि हालसम्म सिन्धुलीमा ३० जना बढीले सवारी दुर्घटना ज्यान गुमाएका छन्, गन्तव्यमा नपुगी गुमेका छन् । ५२२ जना बढी घाइते भएका छन्, जसमध्ये केही घाइते जीवनभर अपाङ्गता जीवन बाँच्न बाध्य छन् ।
तीन प्रमुख राष्ट्रिय मार्गको सङ्गम हो, सिन्धुली । बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग यही जिल्ला हुँदै अन्यत्र फैलिएका छन् । पछिल्लो एक वर्षको अवधिमा सिन्धुलीमा २०० बढी दुर्घटना भएका छन् । यसमध्ये सबैभन्दा धेरै बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ । घुमाउरो मोड, तीव्र गति, ट्राफिक नियमको बेवास्ता र जनचेतनाको कमीले यहाँको सडक सयौँ जीवनको जोखिम बनिरहेको छ । गत वर्ष बिपी राजमार्गमा मात्रै ८२ ओटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन्भने २२३ जना घाइते भएका छन् ।
यस्तै, मदन भण्डारी राजमार्गमा भएका ७८ वटा दुर्घटनामा १४ जनाको ज्यान गएको छभने २०८ जना घाइते भएका छन् । यस्तै, मध्यपहाडी राजमार्गमा भएको सातवटा दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए ।
यसैगरी, भित्री सडकहरूमा ३८ वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कले बताउँछ । यसमा चार जनाले ज्यान गुमाएका र ७४ जना घाइते भएका छन् । राजमार्गको अवस्था राम्रो छ, दुधौली ट्राफिक प्रहरी पोष्टका हबल्दार हरेराम खतिवडाले भने, तर, गति तीव्र हुँदा दुर्घटना हुने गरेको पाइन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुलीमा प्रमुख प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमका अनुसार सवारी दुर्घटनाको प्रमुख कारण चालकको असावधानी हो । हामीले सम्भव भएसम्म जाँच, अनुगमन, सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौँ । तर, ट्राफिकको जनशक्ति सीमित छ, सडक नेटवर्क लामो भएकाले सबै क्षेत्र हेर्न गाह्रो छ, उनले भने । चालकको लापरबाही, आवश्यक प्रविधिको अभाव र स्थानीय चेतनाको कमीले दैनिक दुर्घटना हुने गरेको उनको भनाइ छ ।
उनले भने, कतिपय मोटरसाइकल चालकहरु हेल्मेट लगाउँदैनन्, सिट बेल्ट बाँध्दैनन्, मोबाइल चलाउँदै सवारी चलाउने र आफूले चलाउने सवारी अवस्था चेकजाँच नगरी चलाउँदा समस्या हुने गरेको छ ।
सबै चालक सचेत छैनन् भन्ने पनि होइन । सडकमा वर्षौं बिताएका केही अनुभवी चालकहरू सवारी नियमको कडाइका साथ पालना गर्नुपर्ने कुरामा जोड दिन्छन् । ट्राफिक नियम तोडेर चाँडो गन्तव्य पुग्न खोज्यौँ भने त्यो यात्रु मात्र होइन, हामी सबैको जीवन जोखिममा पर्छ, बिपी राजमार्गको सिन्धुली–काठमाडौँ सडकखण्डमा माइक्रोबस चलाउने रामबहादुर श्रेष्ठले भने । उनले थपे, ट्राफिक नियमको बेवास्त गर्दा, गाडी चलाउँदै फोन चलाउने, बेल्ट नलगाउने, लेन हेरफेर गर्दा सिग्नल नदिनेजस्ता साना गल्तीहरूले ठूलो दुर्घटना हुन सक्छ । सवारी चलाउँदा गतिको प्रतिस्पर्धा कहिल्यै गर्नु नहुने उनले बताए ।
उनका अनुसार ट्राफिक नियम सवारीका चालकका लागि मात्रै होइन, यात्रु र स्थानीय बासिन्दा लागि पनि हो भन्ने चेतनाको अभाव छ । जिल्लाका अधिकांश सडकहरु साँघुरा छन् । त्यसमा स्थानीयवासीले कतै सडकमै पराल फिजाएर सुकाउँछन्, कतै बिस्कुन सडकको बीचमा थुपारिएको भेटिन्छ । पदैलयात्री ‘जेब्राग्रसिङ’को ख्यालै नगरी जहाँ पायो त्यहीँबाट सिधै सडक पार गर्छन् । यसले सडक दुर्घटनाको जोखिम झनै बढाएको छ । सडक दुर्घटना कम गर्न हरेक नागरिक समेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
सडक संरचना सुधारसँगसँगै मानव चेतना र व्यवहारमा परिर्वतन नभए जति फराकिलो सडक बने पनि सडक सुरक्षा नहुने स्थानीय अगुवाहरु बताउँछन् । क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुलीकी सचिव सुनिता दर्नालले सडक सुरक्षालाई लिएर पत्रकारिता क्षेत्रमा पनि अभियान चलाउनु आवश्यकता रहेको बताए । उनले भने, सडक दुर्घटना घटाउन ट्राफिक नियमको व्यापक प्रचार–प्रसार गर्न जरुरी छ । सञ्चारमाध्यमबाट जनचेतना फैलाउनु हाम्रो पनि कर्तव्य हो ।
ट्राफिक नियम स्वयं व्यक्तिको सुरक्षाका लागि हो । सडक दुर्घटना कम गर्न यसको सबैले पूर्ण पालना गर्नु आवश्क छ । यसका लागि कानुनी कार्यान्वयनसँगसँगै सामाजिक चेतना फैलाउन पनि आवश्यता रहेको देखिन्छ ।








प्रतिक्रिया