शुक्रबार, पुष ४, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

नेपालखोज २०८२ साउन १२ गते १४:१०

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१५ बद्रिनाथ मार्गस्थित ट्याटु हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम र ट्रामाडोल १ हजार ५४ ट्याब्लेट सहित ७ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय योजन राई, २७ वर्षीय दिपेन मगर, २१ वर्षीय जगत मगर, ३३ वर्षीय कृष्ण राई, ३२ वर्षीय सुरज कार्की, १९ वर्षीय असिम राई र सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय सोमत राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले योजनले संचालन गरेको उक्त ट्याटु हाउस तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सल्यान कपुरकोट गाउँपालिका–३ पैयाँवारी बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गरिरहेको छ ।

कास्कीको पोखरा महानगरपालिका–२६ डाडाँकोनाकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्राम सहित तनहुँ म्यादे गाउँपालिका–१ गुणादी बस्ने ३८ वर्षीय कमल थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ८५४९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेक हो ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटनबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४६ एम्पुल, बुप्रेनोर्फिन ४६ एम्पुल र प्रोमेथाजाइन ४७ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने दाङ तुलसीपुर घर भएका २० वर्षीय भुपेन्द्र विक र नुवाकोट बिदुर नगरपालिका–९ घर भएका ३० वर्षीय रवि मिजार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीको जानकी गाउँपालिका–७ खल्ला गलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको मधुवन नगरपालिका–८ लालिबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित कैलाली बर्दगोरिया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले नेपालगंजबाट कैलालीतर्फ जाँदै गरेका भे.६ प ६२२८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४० ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने २४ वर्षीय सन्तोष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९१९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका–२ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका–१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका–५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ घर भएका ६१ वर्षीया मैया देबी उप्रेती रहेका छन् ।

पक्राउ मध्ये हेम बहादुरले सिङ्गापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ७० हजार रूपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र मैया देबीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हेम बहादुरलाई टोखा नगरपालिका–८ बाट शुक्रबार, ईश्वरीलाई टोखा नगरपालिका–१० बाट शनिबार र मैया देबीलाई चन्द्रागिरी नगरपालिका–५ बाट आइतबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये ईश्वरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा हेम बहादुर र मैया देबीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया