नक्कली सुन देखाई ठगी गर्ने दुई जना पक्राउ

भक्तपुर । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका–८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भएका २८ वर्षीय बुद्धी बहादुर तामाङ र चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुमन तामाङ रहेका छन् ।
नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका–६ बस्ने ओखलढुङ्गा घर भएका पीडितलाई भक्तपुर इबामोरा चोक नजिक बोलाई उनको साथबाट १२ लाख रूपैयाँ र २०८२ जेठ २७ गते भक्तपुर राधे राधे बस्ने दोलखा घर भएका पीडितलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिई फरार भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
लुटपाटमा संलग्न व्यक्ति पक्राउ
लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–४ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ लामपाटीस्थित सडकमा सोही ठाउँ बस्ने एक जना पीडितको सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
पाल्पाको १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–१० कुमाल गाउँ बस्ने २१ वर्षीय रबिन कुमाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । रबिनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरले उनलाई पक्राउ गरेको हो ।
सुर्खेतको १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–१३ दैलेख गुराँस गाउँपालिका–५ गोगनपानी घर भएका ३१ वर्षीय उत्तम चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उत्तमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
झापाको मेचीनगर नगरपालिका–१२ सरेडाँगिस्थित मे.१ च ६१३१ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित सडकमा को.२८ प २४२२ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुदाँ चालक सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने २९ वर्षीय समीर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसी अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरी चोकस्थित सडकमा ग.१ ख ९०१३ नम्बरको बस र लु.१ ह ४९५४ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा अटोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा अटो चालक शिवराज नगरपालिका–१ उमरी बस्ने ५० वर्षीय रित बहादुर सुनार र अटोमा सवार सोही नगरपालिका–३ बलुवा बस्ने १७ वर्षीया रूबिना राना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय महेन्द्र राय यादवको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राजेश मेडिकल हल मौलापुर हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पर्सातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिराहाको लहान नगरपालिका–२३ बथनाहा चोकस्थित सडकमा म.प्र.०१–००४ प ७४०३ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ ह ०४६९ नम्बरको अटो एकआपसमा ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा अटोमा सवार हाल नाम, थर र वतन नखुलेका अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अटोमा सवार १ जनाको विराटनगर नोबेल अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडास्थित सडकमा प्र.१–०२–००३ ह ६६० नम्बरको अटोले को.१८ प ७०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिक्लाजुङ गाउँपालिका–९ बस्ने २८ वर्षीय सुजन दर्जीको मृत्यु भएको छ । आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ गोल्फुटार डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२६ सामाखुशी घर भएकी ६७ वर्षीया कृष्णदेबी श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ दमाकशरस्थित भेरी नदीको किनारमा रूकुम पश्चिम सानोभेरी गाउँपालिका–४ आलचौर बस्ने ३३ वर्षीय धनबिर विक आइतबार मृत अवस्थामा फेला परेका छन् । रौतहटको दुर्गा भगवती गाउँपालिका–१ स्थित उखु बारीमा सर्लाही रामनगर गाउँपालिका–३ बस्ने ६० वर्षीय रामजन्म दास आइतबार मृत अवस्थामा फेला परेका छन् । झापाको भद्रपुर नगरपालिका–१ तुलसी चोक बस्ने ६८ वर्षीया ओसत राई सोही ठाउँस्थित पलासको रूख मुनि आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया