आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

नेपालखोज २०८२ साउन १३ गते १७:१०

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति हुनुभएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबिच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन । 

नेपाल सरकार गृह मन्त्रालय (सचिव स्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिव स्तर) को २०८२ साउन १२ गतेको निर्णयले प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा २ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए । 

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षक सुदन कुमार विष्ट र उदय जङ्ग बहादुर राणा, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू धर्मनन्द भट्ट, सहकुल केसी, रितेश सिंह र उपेन्द्र कुमार ओझा तथा प्राविधिक प्रहरी निरीक्षकहरू राजेन्द्र लामा र सुदन श्रेष्ठ रहेका थिए । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेसागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र ऊर्जाका साथ संस्थागत विकास, साङ्गठनिक सुदृढीकरण तथा शुद्धीकरण र सङ्गठनको बृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे । 

प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा एवम् अपराध अनुसन्धान र नागरिकमैत्री प्रहरी सेवामा प्राविधिक सेवाको महत्वबारे चर्चा गर्दै प्रहरी सेवालाई थप प्रविधिमैत्री बनाउँदै समयसापेक्ष सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे । प्राविधिक सेवालाई थप प्रभावकारी बनाउन पदोन्नतिसँगै बढेको थप जिम्मेवारी र दायित्वलाई प्रहरी अधिकृतहरूले सोही अनुरूप बहन गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिए । 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्राविधिक प्रहरी उपरीक्षक सुदन कुमार विष्टले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया