‘सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ’

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा उनले कांग्रेस र नेकपा (एमाले)बीच भएको सातबुँदे सहमतिको एउटा महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाए ।
सभापति देउवाले लामो सशस्त्र द्वन्द्व, २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ को महामारी, रूस–युक्रेनबीच भएको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बाबजुद पनि मुलुकको आर्थिक स्थायित्व कायम रहन सक्नुमा २०४८ पछि कांग्रेसको सरकारले बसालेको दरिलो अर्थतन्त्रको जग भएको दाबी गरे ।
सभापति देउवाले वर्तमान अवस्थामा अर्थतन्त्रका बाह्य सूचकहरू, सरकारको चालु खाता र शोधनान्तर बचत निरन्तर बढ्दै गएको, विदेशी मुद्रा सञ्चितिमा उल्लेखीय सुधार भएको, रेमिट्यान्स उच्च दरमा वृद्धि भएको, मुद्रास्फिति करिब चार प्रतिशतमा सीमित भएको, निजी क्षेत्रमा भएको कर्जा प्रवाह चार दशमलव छ प्रतिशतले वृद्धि भएको र गत वर्षको तुलनामा आयात १३ दशमलव एक प्रतिशत र निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भएको जानकारी गराए ।
सभापति देउवाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरिएको मौद्रिक नीतिअनुसार ब्याजदर घटेकाले बैंकमा जम्मा भएको ठूलो रकम कर्जा प्रवाहमा विस्तार भई औद्योगिक व्यवसाय तथा सर्वसाधारण जनतामा केही उत्साह जगाउने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाललगायत माध्यमबाट नकारात्मक भाष्य सिर्जना गर्ने कार्यले लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको भन्दै यसलाई सुधार गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले अहिले नेपालको कानुन, सरकारको बजेट र मौद्रिक नीतिले निजी क्षेत्रको उत्साह थपेको भन्दै लगानीका लागि उपयुक्त अवसर सिर्जना गरेको धारणा राखे । विकास बैंकर्स सङ्घका अध्यक्ष सुयोग श्रेष्ठले स्थानीय सरकारबाट हुने असहयोगका कारण लगानी गर्न समस्या भएको भन्दै यसका लागि सहज वातावरण बनाउन ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले अर्थतन्त्रको दिगोपनाका लागि रेमिट्यान्समा मात्रै भरपर्न नहुनेमा जोड दिनुभयो । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिफिन)का अध्यक्ष उपेन्द्र पौडेलले नेपालमा पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सक्नेगरी पूर्वाधार क्षेत्रको विकास गर्नुपर्ने बताए ।
उनले वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगारीमा प्रवर्द्धन गर्न बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिइरहेको बताउँदै उनीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए । पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले बजेट सकारात्मक आएको र अर्थतन्त्रलाई चलायमान बनाउनेगरी सरकारबाट राम्रो काम भएको बताए ।

प्रतिक्रिया