प्राडा कोइरालाको ‘उद्यमी’ पुस्तक लोकार्पण

काठमाडौं । प्राडा पराशर कोइरालाद्वारा लिखित पुस्तक ‘उद्यमी’ को आज लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं प्रमुख अतिथि डा केदारभक्त माथेमालगायतले सो पुस्तक लोकार्पण गरेका हुन् ।
सो समारोहमा सहभागीहरूले प्रतिभा, परिश्रम र स्वदेशी उद्यमशीलताको महत्वमा जोड दिएका थिए । उक्त पुस्तकमा व्यक्तिको जन्मसिद्ध प्रतिभा र त्यसलाई उद्यमशील यात्रामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा प्रेरणादायी कथा समेटिएको छ ।
लेखक कोइरालाले भने, ‘प्रतिभालाई केवल शिक्षासित तुलना गर्नु उचित होइन । प्रतिभा एउटा प्राकृतिक देन हो, जसलाई पहिचान गरी दिशा दिन सकियो भने, सानो लगानीबाटै ठूलो उद्यमी बन्न सकिन्छ ।’ कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति तथा सभाध्यक्ष प्राडा पुरुषोत्तम बाँस्कोटाले पुस्तकलाई उद्यमशीलता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण दस्तावेजका रूपमा प्रस्तुत गरे ।
उनले स्वदेशमै अवसर खोज्न र वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै आत्मनिर्भरताको बाटोमा लाग्न युवाहरुलाई प्रेरित गर्नुपर्नेमा जोड दिए ।
पुस्तक समीक्षकका रूपमा आमन्त्रित सिटिइभिटीका पूर्व निर्देशक दीपक पौडेलले ‘उद्यमी’को समीक्षा प्रस्तुत गर्दै पुस्तकमा समेटिएका उद्यमीका कथाहरूले नयाँ पुस्तालाई दृढ आत्मबल र सकारात्मक सोच दिनसक्ने बताए ।
लेखक कोइराला त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका पूर्व डिन, विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष, नेपाल राष्ट्र बैंक तथा नेपाल बैंक लिमिटेडका पूर्व सदस्य, साथै गोरखापत्र संस्थानका पूर्व अध्यक्षसमेत हुन् । -रासस

प्रतिक्रिया