‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’

नेपालखोज २०८२ साउन १५ गते ११:५२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । आज याे सडकको निरीक्षण पछि उनले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए ।

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौँसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्‍याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्‍याउने उनले विश्वास व्यक्त गरे । निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गरे ।

मन्त्री दाहालले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने धारणा राख्दै यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौँबासीका लागि मात्र नभई पूर्वी नेपालसहित बाग्मती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि पनि यो सडक महत्त्वपूर्ण रहेको बताए । यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिना अवरोध शीघ्र सम्पन्न गराउन आवश्यक रहेकामा उनले जोड दिए ।

प्रतिक्रिया