सोमबार, मंसिर २२, २०८२

चलचित्र ‘रियाल रिङ्गेट’को प्रिमियर : दर्शक बने भावुक, देशको पीडा पर्दामा झल्कियो

नेपालखोज २०८२ साउन १५ गते १५:१९

काठमाडौं । यही शुक्रबार देशभर रिलिज हुन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को प्रिमियर शो भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंमा आयोजित उक्त प्रिमियर कार्यक्रममा चलचित्र युनिटका सदस्यहरू, राष्ट्रिय स्तरका कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

चलचित्रले नेपाली समाजको एउटा गम्भीर यथार्थको रूपमा रहेको रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र सङ्घर्षलाई पर्दामा प्रस्तुत गरेको छ । चलचित्रको नाममै कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको ‘रिङ्गेट’ समेटेर त्यसको साङ्केतिकता बलियो रूपमा दर्साइएको छ ।

निर्देशक विभोर पोखरेलले आफ्नो निर्देशनमार्फत यो संवेदनशील विषयवस्तुलाई जीवन्त बनाएका छन् भने निर्माता गगनलाल प्रधानको निर्माणमा चलचित्रले प्रवासी श्रमिकहरूको कथालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरेको छ ।

प्रिमियरमा उपस्थित धेरैले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए । प्रवासी नेपालीहरूको जीवनका पीडादायी पानाहरूलाई पर्दामा ल्याउने ‘रियाल रिङ्गेट’ केवल एउटा चलचित्र नभई लाखौँ नेपालीहरूको अन्तर्मनको कथा रहेको दर्शकले बताए ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ चलचित्र हेरेपछि अत्यन्त भावुक बने । उनले भने, ‘यो चलचित्र हेर्दा देश दुख्ने रहेछ। इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन । ‘रियाल रिङ्गेट’ हेर्दा त्यो दिन सम्झिएँए । राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन् ।’

वरिष्ठ गायक प्रेमराजा महतले चलचित्रको प्रशंसा गर्दै भने, ‘धेरैपछि यसरी कुनै नेपाली चलचित्र हेरेँ। चलचित्रको कथा, अभिनय, सङ्गीत सबै उत्कृष्ट छन् । राजनीतिज्ञहरूले पनि यो चलचित्र हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउँछ ।’

विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको चलचित्रमा कलाकारहरू प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि यसमा सशक्त अभिनय छ। चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

चलचित्रको छायाङ्कन भारतको राजस्थान, चितवन, काठमाडौं र लेटाङमा गरिएको छ। द्वन्द्व निर्देशन रोशन श्रेष्ठले, छायाङ्कन हरि घलेले, सम्पादन विपिन मल्लले, पृष्ठभूमि सङ्गीत किरण तुलाधरले गरेका छन् । चलचित्रका गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने, स्वरमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले आवाज दिएका छन् । गीतका शब्द अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन् । राजीव समरको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया