‘मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पुर्याउँछ’

नेपालखोज २०८२ साउन १५ गते १६:२६

ललितपुर । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पुर्याउने बताएका छन् ।

सोह्रौँ मानव अधिकार राष्ट्रिय महाभेलाको प्रतिवेदन तथा दस्तावेजहरुसहितको जिम्मेवारी १७औँ मानव अधिकार राष्ट्रिय महाभेला आयोजक समितिलाई हस्तान्तरण गर्न आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेकाले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

आयोगका सदस्य मिहिर ठाकुरले विश्वको तुलनामा नेपाल मानव अधिकारको क्षेत्रमा सैद्धान्तिक रुपमा अगाडि रहे पनि व्यावहारिक रुपमा प्रयोग र कार्यान्वयन गर्ने सन्दर्भमा अझै पछाडि रहेकाले एकताबद्ध भएर काम गर्न आवश्यक रहेकामा जोड दिए ।

आयोगका सदस्य लिली थापाले १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको नेतृत्व गर्ने अवसर महिलाले पाएकामा गर्व गर्दै मानव अधिकार आयोगको संरचनाभित्रै मानव अधिकार महाभेलाको कार्य तथा योजनाहरुलाई समावेश गराउन मानव अधिकारसँग सम्बद्ध सङ्घसंस्थाहरुलाई आग्रह गरे ।

सचिव मुरारी खरेलले १६औँ मानव अधिकार राष्ट्रिय महाभेलासम्मका विषयवस्तुहरुलाई साराँशमा उतारेर आयोगलाई सुझावका लागि प्रस्तुत गर्न आग्रह गरे ।

मानव अधिकार राष्ट्रिय महाभेलाका संस्थापक चरण प्रसाईंले मानव अधिकार राष्ट्रिय महाभेला संस्थागत हुँदै गएकाले मानव अधिकारका क्षेत्रमा आवाज उठाउनेहरु १० डिसेम्बरका अवसरमा एकताबद्ध भएर अधिकारका पक्षमा आवाज उठाउने बृहत् मञ्च सृजना भएको धारणा राखे ।

प्रतिक्रिया