मंगलबार, मंसिर २३, २०८२

राजनीतिक विकृतिविरुद्ध मिलन भण्डारीको शिष्ट शैलीको र्‍याप गीत सार्वजनिक

नेपालखोज २०८२ साउन १५ गते १७:०२

काठमाडौं । पछिल्लो समय अश्लील शब्द प्रयोग गरेर बनाइने र्‍याप गीतको भीडमा फरक शैली अँगाल्दै गायक मिलन भण्डारीले सामाजिक तथा राजनीतिक बेथितिमाथि गहिरो व्यङ्ग्य प्रहार गर्ने र्‍याप गीत ‘बन्छु म नेता’ सार्वजनिक गरेका छन् ।

भण्डारीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा नेता स्वयंले पर्दा पछाडिको आफ्नो भ्रष्ट, लोभी र जनविरोधी चरित्रलाई प्रस्तुत गरिरहेको शैली प्रयोग गरिएको छ । नेपाली राजनीति, प्रशासन, र राज्य संयन्त्रमा मौलाएको भ्रस्टाचार, विभेद, र जनआकांक्षाविपरीतको कार्यशैलीलाई उजागर गर्न खोजिएको यो गीत हाल सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेको छ ।

‘बन्छु म नेता’ गीतमा जनयुद्धको समयमा जनताले लिएको बलिदानदेखि आजको वैदेशिक पलायन, कर्मचारी तन्त्रको लाचारी, र राजनीतिक हस्तक्षेपसम्मका विषयलाई कलात्मक ढंगले समेटिएको छ । भण्डारीले अश्लील शब्द प्रयोग नगरी शिष्ट र प्रभावकारी भाषामा गम्भीर सन्देश दिनसक्ने उदाहरण प्रस्तुत गरेका छन् ।

भ्रष्टाचार, अवसरवाद, र स्वार्थी नेतृत्वविरुद्ध युवाहरुलाई जागरुक बनाउने उद्देश्यका साथ तयार गरिएको यो गीतमा ‘युवाले आँट गर्नुपर्छ, परिवर्तन सम्भव छ’ भन्ने प्रेरणादायी सन्देश पनि समेटिएको छ । गीतले दर्शक तथा श्रोतामाझ नेपाली र्‍याप विधामा वैकल्पिक धारको सम्भावनालाई पुष्टि गराएको छ ।

प्रतिक्रिया