नवनिर्वाचित सीएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल

नेपालखोज २०८२ साउन १५ गते १८:५५

काठमाडौं । नेपाल उद्योग परिसंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

उनले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको भन्दै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप समिति गठन गरेको बताए ।

अध्यक्ष पाण्डेले परिसंघले शिक्षालाई उद्योगसँग जोड्ने मुख्य उद्देश्यसहित नेपालका विभिन्न विश्वविद्यालयहरुसँग समझदारी गरेको जानकारी समेत गराए ।

सो अवसरमा शिक्षा मन्त्री पन्तले उत्पादनसँग तालमेल हुने गरी शिक्षालाई जोड्न आवश्यक रहेको भन्दै सो कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

उनले शिक्षामा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्दै यसलाई उत्पादनसँग समेत जोड्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा परिसंघका पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया