‘ट्रान्सफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ पुस्तक विमोचन

काठमाडौं । प्रा पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यद्वारा लिखित पुस्तक ‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ पुस्तक विमोचन गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा अच्युत वाग्लेले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरे ।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री सिंहले उक्त पुस्तक नेपालमा समकालीन सार्वजनिक बहस बढाउनका लागि एक महत्त्वपूर्ण ज्ञान स्रोतका रुपमा रहने बताए । पुस्तकले नेपालको थप योजना र नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई मार्गदर्शन गर्ने अपेक्षा रहेको उहाँको भनाइ थियो । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाली समाजको विकासबारे विगतमा धेरै राजनैतिक बहस भए पनि आर्थिक बहस भने नभएको बताए ।
त्यस अवसरमा अध्यक्ष तथा पुस्तकका लेखक प्रा पुष्कर बज्राचार्यले पुस्तक देशलाई समृद्ध नेपालमा रूपान्तरणको बाटो देखाउन लेखिएको र विश्लेषणका आधारमा देशले अव लिन पर्ने कदमहरु सिफारिस गरेको बताउनुभयो । लेखक मोहन दास मानन्धरले नेपालमा विकास कार्यक्रम र परियोजनाहरूको आधार तयार गर्न पुस्तक एक बहुमूल्य स्रोत हुने बताए । लेखक रोजन बज्राचार्यले शिक्षक, विद्यार्थी, विकास अभ्यासकर्ता र आम पाठकहरू र नेपालको विकासमा रुचि राख्ने सबैलाई पुस्तक महत्वपूर्ण हुने बताए ।
पुस्तकमा नेपालको सामाजिक आर्थिक स्थितिको विश्लेषण, समृद्धि र सामाजिक कल्याणको रूपरेखा प्रस्तुत गर्दै मुलुकमा भएका नीतिगत पहलहरूको विश्लेषणात्मक अनुसन्धान गरिएको छ । पुस्तकमा मुलुक रूपान्तरणका लागि महत्वपूर्ण सुझाव सिफारिस समेत गरेको छ । पुस्तकले मूलतः अर्थतन्त्रका सबै आयामहरू र खण्डहरूलाई समेट्दै स्रोतहरूको उचित प्रयोग गर्ने नवीन दृष्टिकोण सहितको निकास प्रदान गरेको जनाइएको छ । रासस

प्रतिक्रिया