‘टोलका जातीय नाम फेरिए, आत्मसम्मान महसुस भयो’

नेपालखोज २०८२ साउन १६ गते ९:५२

काठमाडौं । आफू बस्ने ठाउँ स्वर्गभन्दा पनि प्यारो लाग्छ भन्छन्, तर डोटीकी अम्बिका आउजीलाई आफ्नो थातथलोको नामले सधैँ अपमान महसुस भइरह्यो । उनले मात्र होइन, टोलछिमेकका अधिकांश दलित समुदायका व्यक्तिले वर्षौँदेखि यस्तै महसुस गरिरहे ।

आउजी-ढोली बाडामा बस्छु भन्न पनि अपमान महसुस हुन्छ । आफ्नै ठाउँको नाम लिन नपाए हुन्थ्यो जस्तो लाग्छ किनकि त्यो शब्द मात्रै थिएन आत्मसममानमा चोट पुर्याउने कारण थियो । झन् युवापुस्ता त लाजले भुतुक्क हुन्थे, अम्बिकाले भने ।

अचेल भने उनको टोलको नाम फेरिएको छ । पुस्तौँदेखि कायम आउजी-ढोली बाडा अचेल फूलबारी टोल भएको छ । यसरी नाम बदलिएसँगै अम्बिकाले आफ्नो आत्मसम्मान पनि फेरिएको महसुस गरेका छन् । अब फूलबारी बस्तीकी अम्बिका हुँ भन्न गर्व लाग्छ । अरूले पनि आत्मसम्मान महसुस गर्न थालेका छन् । यो केवल नामको फेरबदल होइन, मानवअधिकार, सामाजिक पहिचान र आत्मसम्मानको पुनस्र्थापना पनि हो, उनले भने ।

यो समाचार डोटीको दिपायल सिलगढी नगरपालिका–५ को हो । त्यहाँ जातीय आधारमा पुस्तौँदेखि कायम टोलका नामहरू फेर्ने अभियान सुरु भएको छ । केही टोलका नाम औपचारिक रूपमा परिवर्तन भइसकेका छन्, केही टोलमा नाम फेर्ने उद्देश्यले अभियान जारी छ । यहाँ गठित विभिन्न महिला समूह, वडा कार्यालय र स्थानीय सरोकार भएका व्यक्ति तथा निकायको सहकार्यमा अभियान सुरु भएको दलित महिला सङ्घ (फेडो)का कार्यक्रम संयोजक शङ्कर विश्वकर्माले बताए ।

अचेल पुस्तौँदेखिको भुलबाडा ‘चेतना बस्ती’, आउजी-ढोली बाडा ‘फूलबारी बस्ती’ र लोहारबाडा ‘बेतालदेउ बस्ती’मा परिवर्तन भएका छन् । वडा नं ५ बाट सुरु भएको यो अभियान अन्य वडा र गाउँपालिका हुँदै जिल्लाभर सञ्चालन गर्ने योजना रहेको विश्वकर्मा बताए । जातका आधारमा नाम दिइएका बस्तीले दैनिकजसो बिझाउँथे ।

आफ्नो ठाउँको नाम भन्न पनि हीनताबोध हुन्थ्यो, किनकि त्यो पहिचानसँग अपमान, जातीय विभेद र तिरस्कार जोडिएको थियो । विद्यालय, अस्पताल, कार्यालयलगायत हरेक ठाउँमा जातमा आधारित स्थान जनाउँदा नयाँ पुस्ताले झन् अपमान बोध गर्थे, उनले भने, दलित समुदाय र विशेषगरी यहाँका युवापुस्ताले यस पहलकदमीलाई ऐतिहासिक भनेका छन् । हिजो आफ्नो ठाउँको नाम भन्न हिच्किचाउनेहरू अचेल गर्वले उच्चारण गर्न थालेका छन् ।

यहाँ वडा कार्यालयको समन्वयनमा सरोकार भएकाहरूसँगको निरन्तर छलफल, समुदायस्तरका बैठक, समझदारी र सहकार्यपछि अन्ततः पुस्तैनी नामहरू परिवर्तन सम्भव भएको फेडोका जिल्ला अध्यक्ष सरिता दयालीको भनाइ छ ।

प्रतिक्रिया