टर्कीएले सिरियामा विद्युत् उत्पादनमा सघाउन अजरबैजानबाट ग्याँस आपूर्ति सुरु

नेपालखोज २०८२ साउन १७ गते २०:५८

इस्तानबुल । टर्कीएले शनिबार अजरबैजानबाट सिरियामा प्राकृतिक ग्याँसको आपूर्ति सुरु गरेको छ । गृहयुद्धका कारण सिरियाको विद्युत् पूर्वाधार ध्वस्त भएको थियो। गत डिसेम्बरमा बशर अल असदलाई सत्ताच्यूत गरेका सिरियाका इस्लामिक अधिकारीहरूले दैनिक २० घण्टाभन्दा बढी विद्युत् कटौती भइरहेको क्षतिग्रस्त देशको पुनर्निर्माणका लागि कोसिस गरिरहेका छन् ।

रियाका ऊर्जामन्त्री अजरबैजानका अर्थमन्त्री र कतारको विकास कोषका प्रमुखको उपस्थितिमा आयोजित एक समारोहमा बोल्दै टर्कीएका ऊर्जामन्त्री अल्पस्र्लान बेराक्टारले यो पहलले सिरियालाई सामान्यीकरण गर्न सहयोग पुग्ने बताए ।

‘प्रारम्भिक चरणमा प्रतिवर्ष दुई अर्ब क्युबिक मिटरसम्म प्राकृतिक ग्यास सिरिया निर्यात गर्न सकिन्छ,’ सिरियाली सीमा नजिकैको दक्षिणी प्रान्त किलिसमा आयोजित समारोहमा बेराक्टारले भन्नुभयो । दमास्कसले उक्त ग्याँस विद्युत उत्पादनका लागि प्रयोग गरिने बताएको छ ।

‘यो ग्यासले करिब ५० लाख घरधुरीको विद्युत् आवश्यकता पूरा गर्न करिब एक हजार २०० मेगावाट क्षमताको विद्युत् गृहलाई सक्रिय बनाउन मद्दत गर्नेछ,’ उनले भने ।

सिरियामा विद्युत् उत्पादनका लागि ग्यास आपूर्ति गरी सहयोग गर्ने कतारी योजनाको पहिलो चरण गत मार्चमा जोर्डन हुँदै सुरु भएको थियो र दैनिक ४०० मेगावाट विद्युत् उपलब्ध गराइएको थियो । -रासस/एएफपी

प्रतिक्रिया