सशस्त्र प्रहरी : जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म

धरान (सुनसरी) । गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो । सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो । भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो । दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो । विस्तारै धुवाँको मुस्लो बढ्दै गयो । आगोको लप्का माथिल्लो तलातिर सर्न थाल्यो ।
आगो निभाउन सँगै मान्छेको उद्धारमा त्यतिबेला सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको थियो । सीमित स्रोतको बाबजुत सङ्कटका बेला ज्यानको वास्ता नगरी भवनभित्र पसेर ११ जनाको जीवन बचाउन सफल भयो सशस्त्र प्रहरी बलका उद्धार टोली ।
प्लाजामा आगो लाग्दै गर्दा एउटा तस्बिर ‘भाइरल’ बनेको थियो त्यतिबेला । सशस्त्र प्रहरी सहायक हबल्दार डोरीमा झुण्डिएर प्लाजामा फसेर सर्वसाधारणको उद्धार गर्न खटिएका थिए । आगोको ताप, धुवाँको अन्धकारमा त्यतिबेला सशस्त्र प्रहरीको मुक्तकण्ठले प्रशंसा सामाजिक सञ्जालमा भएको थियो । भवनको चार तलामा फसेका सर्वसाधारणलाई डोरी र भर्याङमार्फत सशस्त्र प्रहरीले बाहिर निकालेको त्यो दृश्य केबल साहसको कथा मात्र थिएन, त्यो दैनिक तयारी, तालिम र जनताको सुरक्षाप्रति गहिरो प्रतिबद्धताको प्रमाण पनि थियो ।
प्लाजाको आगलागीमा सशस्त्र प्रहरी बल सुनसरीबाट एक सयभन्दा बढी सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका थिए । त्यतिबेला केही सुरक्षाकर्मी आफैँ पनि घाइते भए तर उद्धार कार्य भने रोकिएन । सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा भने, ‘हामीलाई थाहा थियो, आगोभन्दा अघि हामीले त्यहाँ पुगेनौँ भनेभित्रका मानिस बाँच्दैनन् । आगोले ठूलो मानवीय क्षति गर्ने थियो होला हामीले त्यसबेला तालिम होइन, जिम्मेवारी निभाइरहेका थियौँ’, उपरीक्षक थापाले भने । नौ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो भने बाँकी दुई जना नेपाल प्रहरी, नेपाली सेनासहितको संयुक्त टोलीले उद्धार गरेको थियो ।
उद्धारका क्रममा प्रयोग गरिएको डोरी, फायर बलसहितको अग्नि सुरक्षा उपकरण र आपतकालीन तालिमप्राप्त टोलीको समन्वयले सो कार्य सम्भव भएको उनको भनाइ छ । विपद् जब एकैछिनमा जीवन र मृत्युको खाडल कोर्दै अघि बढ्छ, त्यहीबेला सशस्त्र प्रहरी बल नेपालले निर्णय लिन्छ जीवनरक्षाको पक्षमा उभिने । पछिल्ला घटनामा देखिएको तत्क्षण प्रतिक्रिया, सूक्ष्म समन्वय र अदम्य साहसले फेरि एकपटक प्रमाणित गर्यो सशस्त्र प्रहरी केबल शान्ति र सुरक्षाको होइन,जीवनको पनि रक्षक हो ।
विसं २०८० चैत २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म सुनसरीको बराहक्षेत्र चतराधाममा लागेको पूर्णमहाकुम्भ मेलाको अपार भीडमा कोशी नदीमा स्नान गर्दै गर्दा हराएका आठ सर्वसाधारणलाई सशस्त्र प्रहरीको गोताखोरसहित खटिएको टोलीले जीवन फर्काइदिनु सशस्त्र प्रहरी बलको दृष्टि, गति र समर्पणको सङ्गम बनेको उदाहरण हो ।
नेपालको भूगोलिक सीमाना मात्र भौगोलिक सीमा होइन, राष्ट्रको अस्तित्व, सुरक्षा र सार्वभौमिकताको जीवनरेखा पनि हो । यिनै सीमाका अडिग र निडर पहरेदारका रूपमा परिचालित छन् सशस्त्र प्रहरी बल नेपाल । बलको गठनदेखि लिएर, सीमाको रक्षा, आन्तरिक सुरक्षाको मजबुती, राजस्व सङ्कलन सहयोग, विपद् व्यवस्थापनजस्ता सुनसरीमा १८ भन्दाबढी कार्यक्षेत्रमा उनीहरूको सक्रिय सेवा गरिरहेका छन् ।
तर यतिमात्र होइन, सशस्त्र प्रहरी बललाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बहसले पनि तीव्रता पाइरहेको छ । सीमास्तम्भको संरक्षण, सीमामा परिचालित जनशक्ति, भौतिक संरचनाको अवस्था, अनि केन्द्रदेखि स्थानीय तहसम्मको राजस्व सङ्कलनमा उनीहरूले खेलेको भूमिकाले राज्य संयन्त्रमा यस संस्थाको महत्वलाई अझ गहिरो बनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालले सुनसरी जिल्लाको सीमाक्षेत्रमा सशक्त उपस्थिति जनाउँदै आएको छ । २०६४ सालदेखि स्थायी रूपमा तैनाथ सशस्त्र प्रहरीले सीमासुरक्षा मजबुत बनाउँदै अहिले सुनसरी जिल्लामा दुई वटा प्रभावित सीमासुरक्षा गुल्म र नौ वटा बिओपीमार्फत सेवा प्रवाह गरिरहेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण मुख्यालय, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, ६१.९ किलोमिटर लामो अन्तरराष्ट्रिय सीमाक्षेत्रमा फैलिएका ११ वटा युनिटमार्फत नियमित गस्ती, निगरानी, सुराकी सङ्कलन र अवैध गतिविधि नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेका छन् । यी युनिटले जिल्लाको सीमा सुरक्षामा सतर्कता, समन्वय र प्रविधि आधारित रणनीति अपनाएर कार्य गरिरहेको उनले बताए ।
उपरीक्षक थापाका अनुसार सुनसरीका सबै सीमाक्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण भए पनि विशेषगरी कोशी नदी आसपासका नाका तुलनात्मक रूपमा बढी संवेदनशील मानिन्छन् । मानिस तथा सवारीसाधनको बाक्लो आवतजावत हुने भएकाले ती क्षेत्र लागुऔषध ओसारपसार, चोरी तस्करी तथा साना हतियारको अवैध कारोबारको उच्च जोखिममा पर्ने गरेको उनको भनाइ छ ।
सीमा क्षेत्रमा लागुऔषध, घरायसी तथा विद्युतीय सामग्री, साना हतियारलगायत उच्च मूल्यका वस्तुहरूको अवैध तस्करी प्रयास भइरहने गरेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, ‘सर्च अपरेसन’, प्रविधिमैत्री निगरानी, संयुक्त अभियान र सूचनाका आधारमा कारबाही सञ्चालन गर्दै आएको बताए । साथै, अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान, नियन्त्रण र कानुनी प्रक्रिया अगाडि बढाउने काममा समेत उल्लेखनीय प्रगति भएको उनको भनाइ छ ।
सुरक्षा प्रवद्र्धनमा सशस्त्र प्रहरी बलले स्थानीय प्रशासन, स्थानीय तह, भन्सार कार्यालय, व्यवसायी, समुदाय तथा सर्वसाधारणसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको छ । उपरीक्षक थापाले भने, सामूहिक सुरक्षाको अभ्यासलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले समुदायसँगको साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले सूचना आदानप्रदानदेखि सामूहिक जिम्मेवारीसम्म बलियो बनाएको छ ।
सीमावर्ती सुरक्षामा मात्र होइन, अन्तरराष्ट्रिय समन्वयमा पनि सशस्त्र प्रहरीको भूमिका सशक्त रहेको छ । उनले भने, भारतसँगको मित्रतापूर्ण सम्बन्धलाई कायम राख्दै, सम्बन्धित सुरक्षा निकायसँग नियमित समन्वय, सूचना आदानप्रदान तथा बैठकको माध्यमद्वारा सीमासम्बन्धी समस्या तथा सीमा अपराधलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको छ । सीमा जोडिएका १६ वटा वडामा सीमा सहजीकरण समितिसमेत गठन गरिएको र उक्त समितिबाट समयसमयमा सुरक्षा बैठक, छलफल तथा सहकार्यका माध्यमबाट समस्या समाधान गरिँदै आएको छ ।
सीमापार अपराध नियन्त्रणमा यस्ता संयन्त्रले दीर्घकालीन र प्रभावकारी भूमिका खेलिरहेको उपरीक्षक थापाले बताए । उनका अनुसार सीमामा सुरक्षा मजबुत बनाउन सङ्घ, प्रदेश तथा स्थानीय सरकारबीचको सहकार्यलाई अझ संस्थागत गर्दै सशस्त्र प्रहरी बल नेपालको उपस्थिति सीमामा मात्र सीमित नभई राष्ट्रको समग्र सुरक्षामा समर्पित अभियन्ताको रूपमा परिभाषित भइरहेको छ ।








प्रतिक्रिया