नेपालका पहिलो स्नातकोत्तर उत्तीर्ण विद्यार्थी

नेपालमै पढेर पहिलो पटक स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने दुई विद्यार्थीहरूमा जर्ज जोन र आनन्द देव भट्ट थिए । वहाँहरू दुवैले अङ्ग्रेजी विषयमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका थिए ।
जर्ज जोन भारतीय नागरिक भए तापनि काठमाडौंमा नै बसेर प्रविणता प्रमाणपत्र तह तथा स्नातक तहको परीक्षा काठमाडौँमा नेपाल नेशनल कलेजबाट उत्तीर्ण गर्नुभएको थियो । वहाँ नेपालमा घुम्न भनेर आउनुभएको थियो । तर कुन प्रभावले गर्दा हो नेपालमा नै अल्झनुभयो । नेपालमा बसेर पढ्नुभयो र नेपालमा नै शिक्षाको सेवा गर्नुभयो । जर्ज जोन पोखरामा कलेज स्थापनाका लागि आउनुभयो । अधिकांश समय पोखराको पृथ्वीनारायण कलेज (पछि क्याम्पस)मा प्रिन्सिपल (पछि क्याम्पस प्रमुख)का रूपमा रहनुभयो ।
त्यस्तै आनन्द देव भट्ट पनि जुम्लामा जन्मिए पनि प्रारम्भिक शिक्षा पाल्पामा लिनुभएका थिए । वहाँले प्रवीणता प्रमाणपत्र तह तथा स्नातक तह त्रिचन्द्र कलेजमा पुरा गर्नुभएको थियो । स्नातकोत्तर उत्तीर्ण गर्नुभए पछि वहाँ पनि शिक्षण पेसामा नै रहनुभयो । वहाँ सुरुमा २०१२ सालमा धनकुटामा स्थापना भएको धनकुटा डिग्री कलेजमा पढाउन थाल्नुभएको थियो । धनकुटा डिग्री कलेज पूर्वाञ्चलको प्रमुख कलेज हो । भट्टले पछि धरान बहुमुखी क्याम्पस र चितवनको वीरेन्द्र कलेजमा समेत शिक्षाको सेवा गर्नुभयो । साहित्यमा गहिरो रुचि भएका वहाँले पछि राजनीतिमा पनि हाम फाल्नुभयो ।
नेपाल नेशनल कलेज शिक्षाविद् शंकरदेव पन्तको अगुवाइमा स्थापना भएको निजी कलेज थियो । यो कलेज पछि उनै शंकरदेवका नाममा शंकरदेव क्याम्पसको नामले प्रख्यात भयो । सरकारी स्तरमा त्रिचन्द्र कलेज र निजी स्तरमा काठमाडौँमा नेपाल नेशनल कलेज मात्र थियो । त्रिभुवन विश्व विद्यालयको स्थापना भई नसकेको हुँदा स्नातकोत्तर परीक्षा दिन भने पटना विश्व विद्यालयमा जानु परेको थियो ।
२०१७ सालमा भने पहिलो पटक त्रिभुवन विश्व विद्यालयले नै स्नातकोत्तर परीक्षा लिन थाल्यो । पहिलो पटक तीन विद्यार्थीले उत्तीर्ण गर्न सक्षम भए । जसमा दुइ महिला छात्रा सहाना प्रधान र भुवनेश्वरी सत्याल थिए । भने एक मात्र छात्र दामोदर शर्मा हुनुहुन्यो ।








प्रतिक्रिया