हेटौंडामा लिफ्टसहितको प्रादेशिक कृषि थोकबजार

काठमाडौं । हेटौंडाको मुख्य बजारबाट करिब २ किमी पश्चिम ११ नम्बर वडाको थानाभ¥याङमा बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको साझेदारीमा निर्मित प्रादेशिक कृषि थोकबजार भवनको आइतबार उद्घाटन गरिएको छ ।
थोकबजार सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा कृषि मन्त्रालयले उपमहानगरलाई हस्तान्तरण गरेको छ प्रदेशभित्र उत्पादित कृषिउपजको सहज र उचित बजार व्यवस्थापन गरी कृषक तथा उपभोक्ता दुवैलाई उचित लाभ प्रदान गर्ने उद्धेश्यले ३२ करोड १० लाख लागतमा थोकबजार निर्माण गरिएको हो । थोक बजारभित्रको पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयबाट थप ७७ लाख विनियोजन गरिएको थियो ।
कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा फैलिएको थोकबजार प्रदेश सरकारको ७० प्रतिशत र हेटौंडा उपमहानगरको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो । बजारमा थोक बिक्रीका लागि २ तले भवनमा ४० वटा सटर, तरकारी ओसारपसारका लागि ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था छ भने खुद्रा बिक्री भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन् । साना किसानलाई आफ्ना कृषि उत्पादन आफैं बेच्न टहराको व्यवस्था पनि गरिएको छ । २ सय ३२ वर्गमिटरको च्याम्बरसहितको कोल्डस्टोर पनि छ, जहाँ एक पटकमा ५ सय मेट्रिकटनसम्म कृषिउपज सुरक्षित भण्डारण गर्न सकिने बताइएको छ ।
प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले संयुक्तरुपमा बजार भवन उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले थोकबजारलाई प्रदेश सरकारले नमूना कार्यक्रमका रुपमा अघि बढाएको भन्दै थोकबजार किसान, व्यवसायी र उपभोक्तालाई लक्षित गरी सञ्चालन हुने बताए ।
उपभोक्तालाई स्वस्थ्य तरकारी उपलब्ध गराउन बजारले किसान महासंघ, कृषक महासंघलगायत कृषिक्षेत्रका सरोकारवालासँगको समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री श्रेष्ठको विश्वास छ । मन्त्री श्रेष्ठले व्यावसायिकरुपमा छिटै थोकबजार सञ्चालन हुने बताए । यस्ता बजार हरेक पालिकामा विस्तार गर्ने योजनाअनुरुप प्रविधिमैत्री थोकबजार निर्माणका लागि चालु आर्थिक वर्षमा ९ पालिकालाई बजेट विनियोजन गरिएको उनले जानकारी गराए ।
मन्त्री श्रेष्ठले प्रदेशभित्र ८० प्रतिशत बढी जमिन बाँझो रहेकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता जग्गा उपयोगमा ल्याउन तीन तहका सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिए । कृषिउपज आयात घटाउँदै निर्यात बढाउन सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । मूल्यश्रृंखलामा आधारित रहेर किसानका कृषिउपज सीधै उपभोक्तासम्म पु¥याउन अभियान थालिने पनि उनले बताए ।
उपमहानगर प्रमुख लामाले कृषि थोकबजार किसानप्रतिको सम्मान भएको बताए । नगर प्रमुख लामाले किसानलाई हेर्ने दृष्टिमा परिवर्तन आवश्यक रहेकोमा जोड दिँदै कार्यविधि स्वीकृत भएलगत्तै दशैंअघि बजार सञ्चालनमा ल्याइने बताए ।

प्रतिक्रिया